२०८१ मङ्सिर १८ गते मङ्गलवार | 2024 December 3rd Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

ट्रम्पले सेना तैनाथबारे आदेश दिनसक्ने भन्दै अमेरकी रक्षा मन्त्रालयका अधिकारी छलफलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले देशभित्र सैन्य बल तैनाथ गर्न र ठूलो संख्यामा गैरराजनीतिक कर्मचारीहरूलाई बर्खास्त गर्ने आदेश दिएको खण्डमा कस्तो प्रतिक्रिया दिने भन्नेमा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरू छलफलमा जुटेका छन् । ट्रम्पले अमेरिकाभित्र कानून कार्यान्वयन र गैरकानूनी आप्रवासीलाई डिपोर्ट गर्न सेना प्रयोग गर्ने बताउँदै आएका छन् । त्यसका साथै भ्रष्टहरूलाई अमेरिकी राष्ट्रिय सुरक्षा निकायबाट निस्कासन गर्ने बताएका छन् ।

अघिल्लो कार्यकालमा ट्रम्पको जर्नेल मार्क मिलिसहित उनका कतिपय वरिष्ठ सैन्य नेतृत्वसँगको सम्बन्ध तनावपूर्ण बनेको थियो । ज्वइन्ट चिफ अफ स्टाफका अध्यक्ष रहेका बेला मिलिले ट्रम्पको आणविक हतियार प्रयोग गर्ने क्षमतालाई सीमित गर्न कदम चालेका थिए । त्यसको प्रतिक्रियामा ट्रम्पले बारम्बार अमेरिकी सैनिक जर्नेलहरू ‘कमजोर र प्रभावविहीन’ भएको बताउने गरेका छन् । राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै पेन्टागनका अधिकारीहरूले विभिन्न परिदृष्यहरूको सामना गरिरहेको छ । ‘हामी सबै तयारी गर्दैछौं र सबैभन्दा खराब अवस्थाका लागि पनि योजना बनाइरहेका छौं । तर वास्तविकता यो हो कि हामीलाई अब के हुँदै छ भन्ने थाहा छैन,’ एक रक्षा अधिकारीले सीएनएनसँग भनेका छन् ।

ट्रम्पको जितसँगै पेन्टागनभित्र पनि प्रश्न खडा भएको छ । यदि राष्ट्रपतिले गैरकानुनी आदेश जारी गरे भने के गर्ने भन्नेमा रक्षा अधिकारीहरूमा अन्योल छाएको सीएनएनले जनाएको छ । ‘सैनिकहरू कानूनद्वारा अवैध आदेशहरूको अवज्ञा गर्न बाध्य छन्,’ अर्का रक्षा अधिकारीले भने, ‘तर प्रश्न यो छ कि त्यसपछि के हुन्छ ? के हामी वरिष्ठ सैन्य अधिकारीहरूको राजीनामा देख्छौं ?’

यस्तो अवस्थामा ट्रम्पले पेन्टागनको नेतृत्व कसलाई दिन्छन् भन्ने पनि महत्वपूर्ण छ । यद्यपि ट्रम्प र उनको टोलीले अघिल्लो कार्यकालमा सेनासँग रहेको ‘शत्रुतापूर्ण’ अन्त्यका लागि प्रयास गर्नेमा अधिकारीहरूले आशा गरेका एक अधिकारीले बताएका छन् । ‘ह्वाइट हाउस र रक्षा मन्त्रालयबीचको सम्बन्ध साँच्चै खराब थियो र त्यसैले मलाई लाग्छ उनीहरूले यसपटक रक्षा मन्त्रालयको नेतृत्व कसलाई दिने भन्नेमा ध्यान दिनेछन्,’ एक पूर्व अधिकारीले सीएनएनसँग भनेका छन् । गत मंगलबार रक्षामन्त्री लोयड अस्टिनले अमेरिकी नेताहरूले जुनसुकै अवस्थामा पनि सही काम गर्ने र अमेरिकी कंग्रेसले सेनालाई समर्थन गर्न सही कामहरू गर्ने आशा व्यक्त गरेका थिए ।

गत महिना ट्रम्पले ‘अमेरिका भित्रका शत्रु र कट्टर वामपन्थी पागल’ लाई तह लगाउन अमेरिकी सेना प्रयोग गर्नुपर्ने बताएका थिए । ‘मलाई लाग्छ आवश्यक परेका खण्डमा नेशनल गार्ड वा साँच्चै आवश्यक भएमा सेनाले नै सजिलोसँग तह लगाउनुपर्छ,’ चुनावको दिन हुनसक्ने सम्भावित विरोधलाई उल्लेख गर्दै उनले भनेका थिए । ट्रम्पको नेतृत्वमा काम गरेका मिलि र भूतपूर्व चिफ अफ स्टाफ तथा सेवानिवृत्त जर्नेल जोन केली लगायतका कतिपय पूर्ववरिष्ठ सैन्य अधिकारीहरू पछिल्लो समय उनको अधिनायकवादी आवेगहरूविरुद्ध उभिने गरेका छन् । चुनावअघि केलीले हिटलरका नाजी जर्नेलहरूको वफादारीको कुरा गर्दै ट्रम्प ‘फासिस्टको सामान्य परिभाषामा पर्ने’ बताएका थिए ।

सेना प्रमुखबाट हुनसक्ने सैन्य शक्तिको सम्भावित दुरुपयोगबाट जोगाउन पेन्टागनले केही गर्न सक्ने अवस्था छैन । रक्षा मन्त्रालयका वकिलहरूले आदेशको वैधताबारे सैन्य नेताहरूलाई सिफारिस गर्न सक्छन् । तर ट्रम्पलाई अमेरिकी सडकहरूमा अमेरिकी सैनिकहरू तैनाथ गर्नबाट रोक्न सक्ने कुनै वास्तविक कानूनी व्यवस्था भने छैन । ट्रम्पको नेतृत्वमा सेवा गरेका रक्षा मन्त्रालयका एक पूर्ववरिष्ठ अधिकारीले दक्षिणी सीमामा भन्सार र सीमा सुरक्षामा सहयोगका लागि सैनिक तैनाथ गर्ने सम्भावना रहेको बताउँछन् । उक्त क्षेत्रमा पहिले नै हजारौं सैनिक, राष्ट्रिय गार्ड र रिजर्भ फौज तैनाथ गरिएको छ । जो बाइडेन प्रशासनले गत वर्ष १ हजार ५ सय सक्रिय कर्तव्य बलहरू खटाएको थियो ।

ती अधिकारीका अनुसार ट्रम्पले चुनावी भाषणहरूमा भनेजस्तै सामूहिक डिपोर्ट योजनामा मद्दतका लागि अमेरिकी सेनालाई विभिन्न सहरहरूमा खटाउन सक्ने अवस्था छ । कानुन कार्यान्वयन निकायसँग आवश्यक जनशक्ति छैन । ती निकायसँग नभएका हेलिकप्टर, ट्रक लगायतको व्यवस्था सेनाले गर्नेछ,’ उनी भन्छन् । तर अमेरिकी सडकहरूमा सक्रिय–कर्तव्य सेना पठाउने निर्णयलाई हल्का रूपमा लिन नसकिने उनी बताउँछन् । ट्रम्प प्रशासनले सीमा क्षेत्रमा हजारौं सेना खटाइएको खण्डमा त्यसले विदेशी खतराहरूसँग लड्न सेनाको गर्ने तयारीमा असर पुग्न सक्ने अर्का एक अधिकारीले सीएनएनसँग बताएका छन् ।

 

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस