काठमाडौं । फिल्म ‘पूर्णबहादुरको सारंगी’ ले आक्रामक व्यापार गरिरहेको छ। विजय बराल अभिनीत यो फिल्मले प्रदर्शनको ११ दिनमा १९ करोड ९८ लाख रूपैयाँ कमाइ गरेको छ। निर्माण पक्षले आइतबारसम्मको कमाइ सार्वजनिक गरेको छ। फिल्मले कीर्तिमान समेत कायम गरेको छ। यो फिल्मले एकै दिनमा सर्वाधिक कमाइ गर्ने नेपाली फिल्मको कीर्तिमान रचेको छ। फिल्मले शनिबार एकै दिन ३ करोड ८९ लाख रूपैयाँ कमाएको हो।
अहिलेसम्म एकै दिनमा कुनै नेपाली फिल्मले यति धेरै कमाएका थिएनन्। फिल्मले शुक्रबार २ करोड ९९ लाख रूपैयाँ कमाएको थियो। ‘पूर्णबहादुरको सारंगी’ ले अहिलेसम्मकै सर्वाधिक शो पाउने नेपाली फिल्मको समेत कीर्तिमान बनाएको छ। फिल्मले शनिबार देशभर ४ सय ६५ बढी शो पाएको निर्माण संस्था सेभेन सिजले जनाएको छ। आइतबार पनि फिल्मको शो सोही आसपास थियो।
यसअघि ‘बेहुली फ्रम मेघौली’ ले देशभरि ३ सय ३५ शो पाएर कीर्तिमान बनाएको थियो। सो कीर्तिमान ‘पूर्णबहादुरको सारंगी’ ले तोडेको हो। सर्वाधिक कमाउने कीर्तिमानपनि यो फिल्मले रचेसँगै तीन वटा रेकर्ड कायम भएको छ । कतिपय हलहरुले बिहान सबेरै र मध्यरातमा पनि फिल्म चलाएका छन्। ‘पूर्णबहादुरको सारंगी’ सरोज पौडेलको लेखन तथा निर्देशनमा बनेको हो। फिल्ममा विजय बराल, प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकारहरूको अभिनय छ। फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन्। विनोद पौडेल र प्याट्रिक सुवेदी फिल्मका निर्माता हुन्।