२६ कार्तिक, काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज रुपन्देहीमा बयानका लागि लगिने भएको छ । सहकारीको रकम हिनामिना आरोपमा २४ दिनदेखि अनुसन्धानका लागि हिरासतमा रहेका लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतले अनुसन्धान गर्न थप १३ दिन हिरासत राख्न अनुमति दिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ । सोही सहकारीको रकम हिनामिनाको विषयमा अनुसन्धानका लागि उनलाई पक्राउ गर्न रुपन्देही जिल्ला अदालतले प्रहरीलाई अनुमति दिइसकेको छ ।
लामिछानेलाई रुपन्देही पठाउन रुपन्देही प्रहरीले यसअघि नै कास्की प्रहरीलाई पत्राचार गरिसकेको छ । रुपन्देही प्रहरी स्रोतका अनुसार कास्की प्रहरीसँगको समन्वयमा सोमबार साँझको जहाजबाट भैरहवा ल्याइने गरी प्रक्रिया अगाडि बढेको छ ।