२०८१ माघ ४ गते शुक्रवार | 2025 January 17th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

धनी बन्ने रहस्य: लगानीबाट कसरी बनाउने भविष्यको सम्पत्ति

६ मंसिर, काठमाण्डौँ ।  धनाढ्य बन्ने प्रभावकारी बाटो भनेकै लगानी हो। संसारका ठूला धनीहरू सबैले सेयर बजार , व्यवसाय वा घरजग्गा लगानीको सही फाइदा उठाएर सफलता हासिल गरेका छन्। उदाहरणको रूपमा विश्वप्रसिद्ध लगानीकर्ता वारेन बफेटलाई हेर्दा थाहा हुन्छ। उनले धैर्यताका साथ निरन्तर सेयर बजारमा लगानी गरेर अर्बौं डलरको सम्पत्ति जोडेका छन्। जोखिम हुँदाहुँदै पनि उनले सेयर बजारमा लगानी गर्न कहिल्यै छोडेनन्, उनले पैसालाई काममा लगाएर पैसा कमाउन सकिन्छ भन्ने कुरा बुझेका थिए। यसैगरी सही विश्लेषण र रणनीतिका साथ गरिएको लगानीले छोटो समयमै ठूलो उपलब्धि हासिल गर्न सकिने कुरालाई नकार्न सकिन्न। मानिसहरू दिनरात जागीरमा पैसाको लागि मिहिनेत गर्छन्, तर लगानीले पैसालाई नै काममा लगाएर बढी कमाइ गर्ने मौका दिन्छ।

सेयरबजार जस्तो लगानी क्षेत्रले बारम्बार अवसर दिन्छ। तर, यसको महत्त्व नबुझ्दा धेरैले ठूलो नाफा कमाउन अवसर गुमाइरहेका हुन्छन्। सेयर बजार बढ्दा उत्साहित भएर लगानी गर्ने र घट्दा निराश हुँदै सेयर बेच्ने प्रवृत्तिले गर्दा लगानीकर्ताले बजारमा घाटा बेहोर्न बाध्य हुन्छन्। यसरी कैयौं मानिसहरूले भविष्यमा लगानी गर्ने हिम्मत समेत गुमाउँछन्। धेरैजसो लगानीकर्ताहरुले सेयर बजारमा घाटा व्यहोरेपछि वा आईपीओमा सेयर नपरेपछि सेयरबजार क्षेत्रमा लगानी गर्न छोड्छन्। यस्ता अवस्थामा जब तपाईंले लगानी नगर्ने निर्णय लिनुहुन्छ, अन्य कसैले त्यस अवसरको फाइदा उठाइरहेको हुन्छ। तपाईंको सम्भावित नाफा अरू कसैले कमाइरहेको छ। सेयर बजारमा धैर्य र सही जानकारीका साथ लगानी गर्दा जोखिमलाई पन्छाउँदै भविष्यमा ठूलो नाफा लिन सकिन्छ। तर यसका लागि लगानीकर्ताले बजारको सूक्ष्म विश्लेषण, कम्पनीहरूको आर्थिक स्वास्थ्यको अध्ययन, र लगानीका विभिन्न पक्ष बारे बुझ्न आवश्यक छ।

हरेक जोखिमसँग एउटा अवसर लुकेको हुन्छ र सेयर बजारको दुनियाँमा यो कुरा अझ बढी लागू हुने गर्छ। जहाँ सधैं जोखिम रहन्छ तर यिनै जोखिमहरुमा अवसर पनि लुकेको हुन्छ। सफल लगानीकर्ताहरुले यही कुरा बुझेर बजारका उतार-चढावलाई ध्यानपूर्वक मूल्यांकन गरी जोखिमहरूलाई अवसरको रूपमा रूपान्तरण गर्न सक्षम हुन्छन्। त्यसैले बजारको प्रवृत्ति र कम्पनीहरूको अवस्थाबारे राम्रोसँग बुझेर लगानी गर्दा सेयर बजारले दीर्घकालीन रूपमा स्थिर र आकर्षक प्रतिफल दिन सक्छ।

प्रकाशित मिति : २०८१ मङ्सिर ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस