२०८३ बैशाख ८ गते मङ्गलवार | 2026 April 21st Tuesday

अष्ट्रेलियालाई हराउँदै नेपाल हङकङ सिक्सेस प्रतियोगिताको क्वाटर फाइनलमा

शुक्रबारको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो।

काठमाडौं । नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गर्दै हङकङ सिक्सेस क्रिकेट प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ। यो प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। शुक्रबारको पहिलो खेलमा नेपालले इङ्ल्याण्डलाई छ विकेटले पराजित गरेको थियो।

हङकङको मिसन रोड क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ६ ओभरमा १०० रनमा अलआउट भयो। अस्ट्रेलियाका ज्याक वुडले १६ बलमा ४ चौका र ६ छक्का प्रहार गर्दै अविजित ५५ रन बनाएका थिए। तर, अन्य खेलाडीले प्रभावकारी प्रदर्शन गर्न नसक्दा अष्ट्रेलियाले हार बेहोर्नु पर्‍यो।

नेपालका बलर प्रतिश जिसीले तीन विकेट लिए भने लोकेश बम र विवेक यादवले समान एक-एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ६ ओभरमा २ विकेट गुमाउँदै १११ रन बनाएको थियो। कप्तान सन्दीप जोराले १६ बलमा ५ चौका र ४ छक्का हिर्काउँदै सर्वाधिक ५१ रन बनाउँदै उत्कृष्ट प्रदर्शन गरे। लोकेश बमले ३३ रन र राशिद खान र विवेक यादवले समान १२-१२ रनको योगदान गरे। अष्ट्रेलियाका लागि दुवै विकेट ज्याक वुडले लिए।

प्रकाशित मिति : २०८१ कार्तिक १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस