२०८२ फाल्गुन २५ गते सोमवार | 2026 March 9th Monday

‘प्रधानमन्त्रीलाई मारौँ’ भन्दै भिडिओ बनाउने रतन कार्कीले मागे माफी तर, साइबर ब्यूरोले नछाड्ने

Ratan Karki, Prime Minister

काठमाडौं । अघिल्लो साता काठमाडौंमा भएको साफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेलको क्रममा ‘बुढोलाई मारौँ’ भन्दै प्रधानमन्त्रीतर्फ संंकेत गरेर भिडिओ बनाउने युवा रतन कार्कीले माफी मागेपनि प्रहरीले नछाड्ने भएको छ । बंगलादेशसँग नेपाल पराजित भएको खेल सुरु हुनुअघि प्रधानमन्त्रीको नाम नलिई ‘सबैले छेकेर आज बुढोलाई मारौँ, नत्र भोलि त्यो मौका नआउन सक्छ’ भन्दै भिडिओ बनाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने युवालाई पक्राउ गर्ने प्रहरीले तयारी गरेको हो ।

उनको भिडिओ सार्वजनिक भएपछि धेरैले अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग भन्दै कारबाही गर्न माग गरेका थिए । कतिपयले भने माफी दिनपुर्ने बताएका थिए । भिडिओमा हिंसा फैलाउने कुरा गरेकाले कारबाहीको माग भएपछि ती युवाले माफी मागेका थिए ।

उनले भिडिओमा माफी मागेपनि साइबर ब्यूरोले भने नछाड्ने भएको छ । साइबर ब्यूरो स्रोतले भन्यो, ‘अपराध गरेपछि माफी मागेर हुँदैन । पक्राउ गरेर अदालतमा बुझाउनेछौँ, माफी दिए पनि सजाय दिए पनि सम्मानित अदालतले निर्णय गर्छ ।’

चितवनबाट विद्यार्थी भिसामा जापान गएका रतन कार्की नाम गरेका युवकले सो भिडिओ बनाएका थिए । जापानमा रहेकाले पक्राउको लागि त्यहाँको प्रहरीसँग समन्वय भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

ती युवकले भिडिओमा भनेका थिए, “तपाईंले गेम हेरिरहनुभएको होला, मैले अरू नै केही हेरिरहेको छु । आज हामीले मार्न सकिन्छ के ! चाहे भने त्यतिको मान्छे छन् । बाहिर ग्रुप बनाएर घेरेर फ्याट्टै मार्न सकिन्छ । आज मार्यौँ‍ भने मारेको मार्‍यै हुन्छ । आँटौँ त आज । घेरै टाइम छैन बूढो गइहाल्छ । आज गरिएन भने हामी पछुताइन्छ ।”

 

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस