१८ मंसिर, काठमाडौँ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आज औपचारिक भेटवार्ता हुने भएको छ । चारदिने औपचारिक भ्रमणमा बेइजिङ पुगेका प्रधानमन्त्री ओली र राष्ट्रपति चिनफिङबीच द्विपक्षीय वार्ता हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षरसमेत हुने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओलीले आजै चिनियाँ समकक्षी प्रधानमन्त्री ली छ्याङसँग पनि द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै, उनले सोही दिन नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन् । बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको एक कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन् ।