दुहबी /सुनसरी फरवार्ड माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बाह्रौँैँ वार्षिक साधारण सभा मङ्सिर २८ गते दुहबी, सुनसरीको दिनेश स्मृति भवनमा सम्पन्न भएको छ । उक्त साधारण सभा उद्घाटन गर्दै प्रमुख अतिथि माननीय भगवती चौधरीले वर्तमान विश्वनै आर्थिक मन्दीको चपेटामा परेको बेलामा पनि नेपालका लघुवित्त संस्थाले ५९ लाख विपन्न सदस्यहरुलाई वित्तीय सेवा पु¥याइरहेको बताउनुभएको थियो । प्रमुख अतिथि चौधरीले ग्रामीण महिला उत्सुकता विकास मञ्चले २०५३ मा दुई रुपियाँबचत गर्ने सदस्यहरूबाट बचत कार्यक्रम आरम्भ गरेको प्रसङ्ग स्मरण गर्दै गरिव वर्गकै बचत तथा वाणिज्य बैँकबाट प्राप्त कर्जा परिचाल लघुवित्त संस्थाहरुले ऋण प्रवाह गरिरहेकाले कसैले चाहँदैमा ऋण मिनाहा हुन नसक्ने धारणा व्यक्त गर्नुभएको थियो ।
उक्त साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष श्री केशवराज पौडेलद्वारा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पारित गरेको थियो ।त्यस्तै उक्त सभाले शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर तथा कर समायोजन प्रयोजनका लागि ०.७० प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन गरेको थियो । बोनस शेयर वितरण पछि वित्तीय संस्थाको चुक्ता पुंजी रु.१अर्ब १९ करोड ५९ लाख ५२ हजार ८७९ हुनेछ ।
उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आर्थिक वर्ष २०८०÷८१ को नाफा÷नोक्सान हिसाब तथा नगदप्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू, लेखापरीक्षण समितिले सिफारिस गरेबमोजिम वित्तीय संस्थाको आर्थिक वर्ष २०८०÷८१ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने विषयलाई पारित गरेको थियो ।सभामा वित्तीय संस्थाले २०८१ असार मसान्तसम्म ४० जिल्लाका ३८२ स्थानीय तह अन्तर्गत १५९ शाखा कार्यालयमार्फत् २ लाख ८४ हजार ९६५ विपन्न परिवारका सदस्यहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको बारे जानकारी गराइएको थियो ।
साथै यस अवधिमा वित्तीय संस्थाले २० अर्ब ९० करोड ९२ लाख ५५ हजार कर्जा प्रवाह गरेको जानकारी गराइएको थियो । उक्त सभामा विशिष्ट अतिथि गढी गाउँपालिकाका अध्यक्ष तथा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका पूर्व प्रमुख कार्यकारी अधिकृत आशनारायण चौधरीले यस लघुुवित्त संस्थाले विपन्न ग्राहक सदस्यहरुको जीवनस्तर उकास्ने र युवाहरुलाई रोजगारी दिइरहेकोमा सन्तोष व्यक्त गर्दै वर्तमान समयमा नेपालकै लघुवित्त क्षेत्रमा देखिएका विषम अवस्थालाई चिर्न सबै पक्षले आफ्नो क्षेत्रबाट कार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी साधारण सभामा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । उहाँले अहिले लघुवित्तको क्षेत्रमा देखिएको जटिल अवस्था विस्तारै सामान्यतर्फ उन्मुख रहेको बताउनुभएको थियो । उहाँले वित्तीय संस्थाले शेयर सदस्यहरूलाई तुलनात्मक रूपमा सन्तोषजनक लाभांश वितरण गरेको बताउँदै यस साधारण सभामा प्रस्तुत सुझावहरुलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
सभामा सञ्चालक सदस्य प्रा.डा.श्यामकुमार महतो तथा सञ्चालक जगतजङ्ग जि.सी.ले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।कम्पनी सचिव कृष्णप्रसाद भट्राईद्वारा सञ्चालित उक्त साधारण सभामा ग्रामीण महिला उत्सुकता मञ्चका उपाध्यक्ष श्री कलावती थरुनी, वित्तीय संस्थाका सञ्चालक आशुतोष शर्मा, बलराम चौधरी, कमलसिंह राजवंशी, संस्थापक तथा सर्वसाधारण शेयर धनी तथा ग्राहक सदस्यहरुको उपस्थिति रहेको थियो ।