२९ मंसिर, गुल्मी । गुल्मीमा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु पाँच जना घाइते भएका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बुटवलबाट गुल्मीको देउरालीतर्फ आउँदै गरेको सुदुरपश्चिम प्रदेश १००१ ज १३८५ नम्बरको गाडी शुक्रबार साँझ मुसिकोट नगरपालिका–४ दजाकोटमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका–८ का ४५ वर्षीय रबिनकुमार श्रीसको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक शंकर पोखरेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मृतक श्रीसकी पत्नी ३८ वर्षीय वसन्ती श्रीस र उनका छोरा ८ वर्षीय एक्सन श्रीस पनि घाइते भएका छन् । त्यस्तै गाडी चालक गुल्मीको मुसिकोट नगरपालिका–२ देउरालीका २४ वर्षीय दिपक सुनार, सोही ठाउँका २० वर्षीय माधव आचार्य र ४३ वर्षीय गंगा भट्टराई पनि घाइते भएका प्रहरीले जनाएको छ । घाइतेहरुलाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा रेफर गरिएको छ ।