काठमाडौं । चीनमा ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) नामक नयाँ संक्रमण तिव्र रुपमा फैलिन थालेको छ । यसले कोरोना जस्तै महामारी ल्याउने हो की भन्ने त्रास भएको छ । किनभने चिनियाँ अस्पतालहरुमा बिरामी भरिभराउ भएको फोटो–भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । चिकित्सकहरुका अनुसार यी बिरामीहरुमा ‘फ्लु’ जस्ता लक्षण देखिएका छन् ।
चीनका स्वास्थ्य अधिकारीहरूले यो भाइरससँग लड्न केही प्रोटोकल लागू गरेका छन् । भारतमा पनि संक्रमण देखिएपछि छिमेकी देशहरूमा चिन्ता बढाएको छ । यद्यपि नेपालको लागि भने अहिले आएको भाइरस नौलो नभएको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन् । पुन भन्छन् ‘धेरै वर्ष अगाडी लगभग सन् २०११ देखि २०१४ सम्म भएको अध्ययनले नेपालका बालबालिकामा यो संक्रमण पुष्टि भइसकेको देखाएको छ । तर, चीनमा मान्छेहरूको स्वास्थ्य अवस्था बिग्रनुमा यसलाई कारक मानिएको हो भने यस भाइरसको स्वरूप परिवर्तन भएको हो ? भन्ने प्रश्न उठ्छ ।’
चीनमा वास्तवमा नै यो एचएमपीभी भाइरसले नै अप्ठ्यारो अवस्था सिर्जना गरेको हो ? यदि त्यस्तो भएको हो भने एचएमपीभी भाइरस म्युटेसन भएर साँच्चै घातक भएको भन्ने अर्को प्रश्न उठ्ने उनले बताए । यदि स्वरूप परिवर्तन भएर आएको हो भने मात्र चिन्ताको विषय हुन्छ । अन्यथा, यस भाइरसले स्वास्थ्यमा जटिलता सिर्जना गर्ला कि भनेर डराउनु पर्ने अवस्था नभएको डा. पुन बताउँछन् ।
एचएमपीभी भाइरस के हो ?
यो श्वासप्रश्वासमा संक्रमण गर्ने भाइरस हो । यो मौसमी भाइरस पनि हो । यसको प्रभाव सामान्यतयास् जाडो र वसन्तमा बढी देखिन्छ । यो फ्लु जस्तै संक्रमण भएको पुन बताउँछन् । साइन्स डाइरेक्टमा प्रकाशित एक रिपोर्टअनुसार यो भाइरस वर्षौं पहिले चराबाट फैलिएको हो । तर त्यसयता यो भाइरसले बारम्बार आफूलाई परिवर्तन गरिरहेको छ। र, अहिले यो भाइरसले चरालाई सङ्क्रमित गर्न सक्दैन ।
अमेरिकी सरकारको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार सन् २००१ मा यो भाइरसको संक्रमण पुष्टी भएको थियो । जसबाट त्यही बेला नै यो भाइरसले मानिसमा संक्रमण गर्न सक्ने र सबै उमेरका मानिसलाई सार्न सक्ने अनुमान गरिएको थियो ।
‘संक्रमण कसरी फैलिन्छ ?
यो भाइरस खोकी र हाँच्छ्युँ गर्दा निस्कने थुकको कणबाट मानिसमा सर्छ र सङ्क्रमित हुन्छ । हात मिलाएर, अँगालो हालेर वा एक अर्कालाई छुँदा पनि फैलिन सक्ने डा. पुन बताउँछन् । उनी भन्छन् ‘यदि खोक्दा वा हाँच्छ्युँ गर्दा थुकको कण कुनै सतहमा खसेको छ । सतहमा छोएपछि त्यो हातले अनुहार, नाक, आँखा वा मुख छोयो भने त्यसले पनि भाइरस सर्न सक्छ ।’
ध्यान दिनुपर्ने कुरा
भाइरसबाट सङ्क्रमित व्यक्ति वा कसैलाई रुघाखोकी लागेमा त्यस्ता व्यक्तिबाट टाढा रहनु पर्छ । खोक्दा वा हाँच्छ्युँ गर्दा मुखमा रुमाल वा कपडा राख्नुपर्छ । खोक्दा र हाँच्छ्युँ गर्दा छुट्टै रुमाल वा तौलिया प्रयोग गर्ने, साबुन र पानीले कम्तीमा २० सेकेन्डसम्म राम्ररी हात धुनु डा. पुनले सुझाए । अहिलेसम्म यो भाइरसको लागि न त कुनै विशेष एन्टिभाइरल औषधि बनेको छ न त कुनै खोप नै बनेको छ । यसका लागि सामान्यतया रुघाखोकी र ज्वरोको औषधि दिइने चिकित्सकहरू बताउँछन् ।
तर, यो भाइरसले पहिलेदेखि नै श्वासप्रश्वाससम्बन्धी कुनै पनि रोग भएकाहरूलाई समस्या निम्त्याउन सक्छ । यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनुपर्ने पुन बताउँछन् । चीनबाट यो एचएमपीभी सङ्क्रमणको स्वरूप परिवर्तन भएर आएको हो की हैन भनेर परीक्षण गर्नुपर्छ । कोरोना भाइरसको भेरियन्ट पत्ता लगाए जस्तै नेपालले नै यो स्वरूप परिवर्तन भएको छ की छैन भनेर पत्ता लगाउन सक्छ । त्यसैले यसबाट आतकिंत हुनु भन्दा पनि कति घातक हो भनेर पत्ता लगाउनु पर्ने डा. पुन सुझाउँछन् ।