काठमाडौं । प्रेस चौतारी नेपालले सञ्चार माध्यममा प्रकाशित सामग्री लिएर आम सञ्चार माध्यमका प्रकाशक, सम्पादक र र पत्रकार विरुद्ध एकपछि अर्को विद्युतीय अपराध (साइबर क्राइम) मा मुद्दा चलाएको भन्दै आपत्ति जनाएको छ ।
प्रेस स्वतन्त्रतालाई बन्देज लगाउने र सरकारलाई समेत बदनाम गराउने गरी प्रहरी र सम्बन्धित निकायले साइबर अपराधमा मुद्दा चलाएको भन्दै चौतारीले निन्दा गरेको छ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको संगठनको छैटौँ केन्द्रीय समितिको बैठकपछि ११ बूँदे काठमाडौं घोषणापत्र जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचना प्रवाहको स्थापित अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा अभ्यास र नेपालको संविधानले आत्मसात् गरेको सिद्धान्त अनुकूल प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्बाध प्रयोगको वातावरण निर्माणका लागि प्रतिबद्धता व्यक्त गर्न आग्रह गरेको छ । वर्तमान सरकार सो विषयमा प्रतिबद्ध रहेको भए पनि सरकारको प्रतिबद्धता विपरीत सरकारलाई नै असहयोग गर्ने नियत राखेर प्रहरी र सम्बन्धित निकायले कसैको उक्साहटमा यस प्रकारको गतिविधि गरिरहेको ठहर बैठकले गरेको छ ।
चौतारीले श्रमजीवी पत्रकार सम्बन्धी ऐन जारी भएको तीन दशक भइसक्दा पनि यसको पूर्ण कार्यान्वयन हुन नसकेको विडम्बनापूर्ण अवस्था रहेको भन्दै पूर्ण कार्यान्वयनका लागि माग गरेको छ । यसै गरी चौतारीले सञ्चार प्रतिष्ठानमा नियुक्ति पाएको दिनदेखि नै न्यूनतम पारिश्रमिक, बिदा, औषधी उपचार, बिमा, उपदान लगायत सामाजिक सुरक्षाको ग्यारेन्टी र अन्य क्षेत्रमा कार्यरत श्रमजीवीको तुलनात्मक पारिश्रमिक दरको अध्ययनका आधारमा निरन्तर न्यूनतम तलब वृद्धिको माग गरेको छ ।
श्रमजीवी पत्रकारको निःशुल्क दुर्घटना बिमालाई स्वास्थ्य बिमामा रूपान्तरण गरी त्यसको प्रभावकारी कार्यान्वयनको माग पनि प्रेस चौतारी नेपालले जनाएको छ । ज्येष्ठ पत्रकार सम्मान वृत्ति कोष रकमको वृद्धिको माग पनि बैठकले गरेको छ । यसै गरी सरकारी अस्पतालमा श्रमजीवी पत्रकारको निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणालाई पनि प्रभावकारी र वैज्ञानिक प्रणालीमार्फत पूर्ण कार्यान्वयनको माग प्रेस चौतारी नेपालले गरेको छ ।
चौतारीले गत मंसिर २८ गते सम्पन्न भएको नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई मतदान गर्ने सदस्यहरूलाई धन्यवाद दिएको छ । घोषणापत्रमा लेखिएको छ, ‘नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरूमा अघि सारिएका उम्मेदवारहरूलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरूलाई यो बैठक हार्दिक आभार प्रकट गर्दछ, साथै यो बैठक महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउन योगदान गर्ने तीनै तहका निर्वाचन समितिहरू, महासंघको निवर्तमान नेतृत्व, कर्मचारी लगायत सबैलाई हार्दिक धन्यवाद र विजयी सबैलाई बधाई ज्ञापन गर्दछ ।’
प्रेस चौतारीले आफ्नो महाधिवेशन सम्पन्न गर्नका लागि सहयोगको अपिल समेत गरेको छ । ‘नेकपा एमाले आदरणीय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूबाट उद्घाटन हुने प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन २५–२७ फागुन २०८१, विराटनगरलाई भव्यतापूर्वक सफल पार्नका लागि सम्पूर्ण श्रमजीवी पत्रकार र सबै शुभेच्छुकहरूलाई यो बैठक हार्दिक अपिल गर्दछ’, घोषणामा लेखिएको छ ।