
८ माघ, काठमाडौँ । हाल देशभर पश्चिमी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकोले ती क्षेत्रका पहाडी भूभागमा आंशिक बदली देखिएको छ । बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको छ । देशका तराईका केही भूभागहरूमा बिहानको समयमा बाक्लो हुस्सु लागेकोले जनजीवनमा असर पर्न गएको छ ।
काठमाडौं उपत्यकामा बिहानको समयमा बाक्लो हुस्सु र चिसो महसुस गरिएको छ । न्यूनतम तापक्रम घटिरहेकाले चिसोले जनजीवन प्रभावित गरेको छ । मौसम सफा रहे पनि चिसोबाट स्वास्थ्यमा पर्ने प्रभावका कारण विशेष सतर्कता अपनाउन आवश्यक रहेको छ ।
देशका कोशी, मधेस, बागमती, गण्डकी, र लुम्बिनी प्रदेशमा मौसम मुख्यतया सफा रहे पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदलीको अवस्था रहेको छ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा कुहिरोको कारण दैनिक गतिविधिमा अवरोध भएको छ । कुहिरोले सडक यातायात र हवाई उडानमा प्रभाव पारिरहेको छ भने चिसोका कारण विशेष गरी बालबालिका, वृद्धवृद्धा, र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । महाशाखाले चिसोबाट बच्न न्यानो कपडाको प्रयोग गर्न, कुहिरोको बेला अत्यावश्यक कामबाहेक यात्रा नगर्न, र स्वस्थ्य सुरक्षा उपायहरू अपनाउन आग्रह गरेको छ ।