काठमाडौं । आर्थिक ऐन, २०८१ ले प्रदान गरेको छुट सुविधा उपभोग गर्ने अबधि आगामी फागुन मसान्तसम्म रहेको छ । जस अनुसार आन्तरिक राजस्व कार्यालय नयाँ वानेश्वरले आफ्नो कार्य क्षेत्रमा रहेका करदाताहरुलाई सो सुविधाबाट कोही पनि बन्चित हुन नपरोस भन्ने उद्देश्यले विशेष अभियान संचालन गरेको छ ।
उक्त छुट सुविधा आकर्षित हुने प्रकृतिका करदातालाई फोन सम्पर्क गर्ने, Bulk SMS गर्ने जस्ता प्रयासहरु यस अगाडि नै गरिसकेकोमा हाल छब्बिस हजार भन्दा बढीको संख्यामा रहेका यस्ता करदाताहरुलाई विस्तृत विवरण सहितको पत्राचार गरिएको प्रमुख कर अधिकृत गोविन्दराज आचार्यले बताए ।
यसका लागि आर्थिक वर्ष २०७०/०७१ देखी आय विवरण नबुझाई ननफाईलर रहेका सबै करदाताहरुको करदायित्वको रकम, छुट सुविधाको रकम र तोकिएको अवधिमा आय विवरण र कर दाखिला नगरिएमा लाग्न सक्ने शुल्क, व्याज र जरिवाना सहितको रकम गणना गरि पत्राचार गरिएको प्रमुखले बताए ।

विगत धेरै वर्षदेखी ननफाईलर रहेका करदाताहरलाई पत्रको माध्यामबाट विस्तृत र स्पष्ट व्यहोरा संप्रेषण गर्दा यसको परिपालनामा उल्लेख्य सहभागिता बढ्ने उनको प्रक्षेपण रहेको छ । यस्तै, काठमाण्ठौं महानगरपालिकाका वडा नं १० र ३१ को कार्यालयहरु उक्त वडामा आवद्दित विभिन्न सामाजिक एवं व्यवसायिक संस्था र अन्य वस्तुगत संगठनहरुसँगको समन्वयमा सम्बन्धित करदाताहरुलाई सू-सूचित गरी आर्थिक ऐन, २०८१ ले प्रदान गरेका छुट सुविधाबाट लाभ दिलाउँदै ननफाईलर घटाउने विशेष अभियान संचालन गरिएको प्रमुख आचार्यले बताए ।

