काठमाडौं । पश्चिमी नेपालको कञ्चनपुरस्थित बेलौरी–६ मा एक महिलाले बीमा बापतको २८ लाख रुपैयाँको लागि आफ्नै घरभित्र आफ्नै श्रीमानको हत्या गराएर बीमा रकम हत्याउने प्रयास प्रहरीले असफल पारिदिएको छ ।
कञ्चनपुर बेलौरी नगरपालिका ६ भुराकोटकी जानकी कुमारी रानाले गत मंसिर १३ गते अपरान्ह आफ्नै श्रीमान ४९ बर्षिया सियाराम रानाको हत्या गराएकी हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी चक्रराज धामीले भने, ‘घरमा आन्तरिक झगडा पनि रहेछ, शंकास्पद सम्बन्ध भएको भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गर्ने र बीमा रकम लिएर घर बनाएर बस्ने उद्देश्य देखिन्छ ।’
घट्ना विवरण अनुसार गत मंसिर १३ गते सियाराम रानाले आफ्नी छोरीलाई विद्यालय पुर्याएर घर फर्केपछि आराम गर्न भन्दै सुतेका थियो । सो क्रममा उनकी श्रीमती जानकी कुमारीले फारुल नामका ३० बर्षिय भारतीय नागरिकसँग मिली टाउकोमा प्रहार गरी हत्या गराएकी थिईन् । दुवै जना मिलेर शवलाई बाथरुममा लडेर घाइते भएको र उपचारको क्रममा निधन भएको भन्ने झुठो विवरण तयार पारी बीमा रकम लिन योजना बनाएको प्रहरीको भनाई छ ।
ट्वाईलेटमा चिप्लिएर लडेको भन्दै दुवै जनाले प्रहरीलाई बोलाएका थिए । तर, घट्नास्थलमा प्रहरीले खानतलासी गर्दा फरक दृष्य देख्यो । कुर्सीतिर रगत लागेको तथा शंकास्पद देखिएपछि श्रीमती जानकीदेवीलाई नियन्त्रणमा लिएको थियो । खानमुनी रगत लागेको इट्टा भेटिएपछि जानकीदेवीका विरुद्धमा जिल्ला अदालत कञ्चनपुरमा ज्यान मुद्दा दर्ता गराएपछि पुर्पक्षको लागि थुनामा पठाएको थियो ।
घट्नामा पक्राउ रहेका भारतीय नागरिक फारुललाई कञ्चनपुर प्रहरीले खोजी गरी हिजो अदालतमा पेश गरेर म्याद थप गरेको छ । प्रहरीले थप जाँचबुझको क्रममा निज फारुल समेतले खुलाए अनुसार हत्या गरिएका सियारामको नाममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २८ लाख रुपैयाँको बीमा गरेको र सो रकम समेत लिएर घर बनाएर बस्ने योजना रहेको तथ्य प्रहरी सामू खुलेको छ ।

