
काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई गत माघ २ गते काठमाडौं जिल्ला अदालत परिसरमा कुटपिट भएको थियो । सीसीटीभी र बयानका आधारमा प्रहरीले संलग्नहरु खोज्दै नियन्त्रणमा लिइरहेको छ । साथै अनुशन्धानपनि अघि बढाएको छ । पक्राउ परेकाहरु मध्ये एकजना मात्र आफ्ना कार्यकर्ता रहेको विज्ञप्तिमार्फत राष्ट्रिय स्वतन्त्र पार्टीले स्वीकारेको छ ।
तर मुल नाइके शीतल उपनामकी सीता राई रास्वपा काठमाडौं ३१ की उप–सभापति तथा पार्टीकै क्रियाशील सदस्य रहँदा समेत मौन रहेर बचाउन खोजेको छ ।
स्रोतका अनुसार गोप्य रुपमा प्रहरीसँग नै सेटिङ गरेर उनलाई अनुशन्धान तहबाटै उन्मुक्ति दिने प्रयास भइरहेको छ । यसैले रास्वपा यो विषयमा मौन बसेको देखिन्छ । त्रिपाठीलाई आक्रमण गरेपछि कडा अभिव्यक्ति तत्कालै दिएका महेन्द्र पाण्डे भनिने महानन्द जैशी रास्वपा हुम्लाका संस्थापक उपसभापति भएको खुलेको छ ।
कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगीमा रास्वपा सभापति रवि लामिछानेविरुद्धको मुद्दामा जाहेरवाला (सहकारीपीडित) का तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता त्रिपाठीलाई सीता, महेन्द्रसहितले लछारपछार पार्दै कुटेका थिए । आफूलाई कुटिपट गर्नेलाई कारबाही मागसहित त्रिपाठीले जाहेरी दिएपछि तीनजनालाई प्रहरीले पक्राउ गरिसकेको छ । थप पक्राउपर्नेमध्ये ललितपुरको टीकाथली निवासी ललितकुमार केसी र खोटाङबाट सदस्यता पाएकी काठमाडौं शान्तिनगर निवासी शीतल उपनामकी सीता राई रहेकी छन् ।
सीता रास्वपा काठमाडौं ३१ की उप–सभापति हुन् । तर उनका बारेमा पार्टी मौन छ । हामीलाई प्राप्त प्रमाण अनुसार उनले २०८० जेठ २६ गते क्रियाशील सदस्यता प्राप्त गरेकी हुन् । खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ४ बाक्सिला ठेगानामा उनले खोटाङबाट सदस्यता पाएकी छिन् । खोटाङबाट दशकौं अघि झापा झरेकी उनले काठमाडौं आएर शान्तिनगरको सुकुम्बासी बस्ती नजिक घर बनाएकी छिन् ।
रास्वपाका केन्द्रीय नेताहरुसँगको राम्रै हिमचिमका कारण भूगोलको टुंगो नभएपनि उनलाई जताततै जिम्मेवारी दिएको देखिन्छ । खोटाङबाट क्रियाशील सदस्यता पाएकी उनलाई काठमाडौं ३१ मा उप–सभापति नै दिइयो । खोटाङमापनि उनी निक्कै विवादित पात्र हुन् । केही समयअघि आफ्नै पार्टीका नेताहरुलाई कुटपिटको धम्की, गाली-गलौज र सामाजिक सञ्जालमा मनलाग्दी पोष्टका कारण उनी चर्चित थिइन् ।
नले रास्वपा खोटाङमा पनि भाडभैलो तथा अराजक गतिविधि गरेकी थिइन् । फेसबुक मार्फत रास्वपा कै साथीहरूलाई पनि अभद्र किसिमका गाली–गलौजहरु गर्ने कुटपिटको धम्कि दिने गरेकी थिइन् । अराजक गतिविधि रहँदापनि यसअघिदेखि नै रास्वपाले छुट दिँदै आएको छ । अनुशासनको पाठ सिकाउने पार्टीले सिताका हकमा गरिरहेको व्यवहार देख्दा रास्वपका नेता कार्यकर्ता नै चकित छन् ।
रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले महेन्द्र भनिने महानन्द जैशी पार्टीको क्रियाशील सदस्य रहेको स्वीकारेका छन् । यद्यपि पाण्डेले त्रिपाठीलाई कुटपिट नगरेको जिकिर रास्वपाको छ । रास्वपाले त्रिपाठीमाथि कुटपिट भएकै दिन विज्ञप्ति निकालेर यस प्रकरणमा आफ्ना कार्यकर्ता संलग्न भएको पुष्टि भएमा कारबाही गर्ने जनाएको थियो । तर सिता कुटपिटको अग्रस्थानमा रहेर कमाण्ड गरिरहेको सामाजिक सञ्जालमा आएको भिडियोमा देखिन्छ । कारबाही गर्ने भन्ने रास्वपाले प्रस्ट देखिएकी र पार्टीको शीर्ष नेताहरुसँगै हिमचिममा रहेकी आफ्नै पार्टीकी नेतृका बारेमा भने लुकाएर उनलाई बचाउन खोजेको प्रस्ट देखिन्छ ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीले कुटपिटमा संलग्न भएको प्रमाणित भए तत्काल कारबाही गर्ने बताएका थिए । तर अहिले उनैले पाण्डे घटनास्थलमा भए पनि कुटपिट नगरेको भनेर बचाउ गरेका छन् । पाण्डे र राई रास्वपामा सभापति लामिछानेनिकट हुन् । २०८० वैशाख १० चितवनमा २ मा भएको उपनिर्वाचनमा रविविरुद्ध नै लडेर १८ भोट ल्याएपछि उनी रास्वपामा प्रवेश गरेका थिए। धेरै समय काठमाडौंमै बस्ने उनी रास्वपा केन्द्रीय कार्यालय धाइरने कार्यकर्ता हुन् । उनी रविविरुद्ध बोल्नेमाथि तत्कालै जाइलाग्ने गर्थे । सितापनि व्यवहार नै अराजकको रुपमा प्रस्तुत हुँदै आएकी छिन् ।
पक्राउ परेकामध्ये दोलखाको तामाकोसी गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका(५ टीकाथली निवासी केसी भने रास्वपा कार्यकर्ता होइनन् । उनले सदस्यताका लागि निवेदन दिए पनि रास्वपाले दिइसकेको छैन । सदस्यता नपाइसकेकाले उनी रास्वपाका शुभेच्छुक हुन् ।
सिताले अराजकताका लागि पार्टीबाट साधारण सदस्य पनि नरहने गरि कारबाहीमा परेकी नेपाल कृषि अनुसन्धान परिषद् नार्कमा कार्यरत कर्मचारी भगवती रोकाको साथ लिने गरेकी छिन् । राई सँगै यस्तै अराजक गतिविधिमा रोकापनि अप्रत्यक्ष रुपमा संलग्न हुँदै आएकी थिइन् । राईलाई बचाउन रास्वपा अनुशासन आयोगका सदस्य समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपाने निक्कै कसरत गरिरहेका छन् । उनको अदालत धाउने दैनिकी अहिले सिता बचाउने रहेको स्रोतले बतायो ।