२०८२ असार ३ गते मङ्गलवार | 2025 June 17th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बुढा विदेशमा, सासू-ज्वाइँको अवैध सम्बन्ध लुकाउन वृद्धको हत्या

काठमाडौं । प्युठानको गौमुखी गाउँपालिका–५ मा घटेको एक सनसनीपूर्ण हत्याकाण्डमा प्रहरीले दुई जना आरोपितलाई सार्वजनिक गरेको छ। ६९ वर्षीय चिन्तामणि उपाध्यायको हत्या आरोपमा पक्राउ परेका ५१ वर्षीय लोकबहादुर गिरी र ५० वर्षीया जेदुकुमारी न्यौपानेलाई आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो।

प्रहरी अनुसन्धानका अनुसार, लोकबहादुर आफ्नै सासू जेदुकुमारीका प्रेमी थिए। जेदुकुमारीका श्रीमान् रोजगारीका लागि भारतमा थिए भने छोराछोरी सबै विवाहित भएका कारण उनी घरमा एक्लै बस्दै आएकी थिइन्। यसैबीच, उनले चिन्तामणि उपाध्यायसँग प्रेम सम्बन्ध सुरु गरिन्। तर, चिन्तामणिसँग प्रेममा रहँदा नै उनले आफ्नै ज्वाइँ लोकबहादुरसँग पनि अवैध सम्बन्ध राखेकी थिइन्।

एक वर्षअघि लोकबहादुर जेदुकुमारीको घरमा बसेका बेला चिन्तामणिले उनीहरूलाई रंगेहात समातेका थिए। त्यसपछि उनले ज्वाइँ-सासूलाई कोठामा थुनेका थिए। यही घटनाले उनीहरूबीचको सम्बन्धमा दरार पैदा गर्‍यो र अन्ततः चिन्तामणिको हत्या योजनाको आधार बन्यो।

प्रहरीका अनुसार, माघ १७ गते राति जेदुकुमारीले चिन्तामणिलाई बोलाइन्। योजना अनुरूप, लोकबहादुर र जेदुकुमारीले मिलेर ढुङ्गा र बन्दुकको बट प्रहार गरी उनको हत्या गरे।

माघ १९ गते बिहान गौमुखी गाउँपालिका–५ स्थित कच्ची भित्री सडकमा चिन्तामणि उपाध्यायको शव टाउको, अनुहार, नाक र मुखमा गहिरो चोटसहित रगताम्मे अवस्थामा फेला परेको थियो। अनुसन्धानका क्रममा प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल र प्रहरी निरीक्षक केशव केसी नेतृत्वको टोलीले घटनाको भित्री रहस्य पत्ता लगायो।

घटनाको २४ घण्टा नबित्दै प्रहरीले जेदुकुमारीलाई आफ्नै घरबाट र लोकबहादुरलाई जङ्गलबाट पक्राउ गर्‍यो। उनीहरूबाट एक थान भरुवा बन्दुक, मोबाइल र नगद सात हजार रुपियाँ बरामद गरिएको छ।

हत्या घटनाको पछाडि त्रिकोणात्मक सम्बन्ध, मदिरा सेवन, र पुरानो रिसइबी मुख्य कारण रहेको प्रहरी निष्कर्ष छ। दुवैले हत्या स्वीकार गरिसकेका छन् र कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमवार
प्रतिक्रिया दिनुहोस