
काठमाडौं । मेटाले तेस्रो पक्षको तथ्य जाँच कार्यक्रम समाप्त गर्दै सामुदायिक नोट्समा आधारित तथ्य जाँच कार्यक्रम सुरु गर्न लागेको छ। जनवरीमा एक घोषणा गर्दै कम्पनीले यो निर्णयको जानकारी गराएको थियो। सामुदायिक नोट्स योगदानकर्ताहरूले आफूलाई गलत वा भ्रामक लागेका पोस्टहरूमा नोट्स लेख्न र पेश गर्न सक्नेछन्। यी नोट्समा पृष्ठभूमि जानकारी, सुझाव वा अन्तर्दृष्टि समेत समावेश हुन सक्छ।
मेटाका अनुसार कुनै पोस्टमा सामुदायिक नोट प्रकाशित गर्न, प्रयोगकर्ताहरूले नोटलाई सहयोगी ठान्नु पर्छ । यदि प्रयोगकर्ताहरू बीचमा सहमति छैन वा नोटलाई सहयोगी नमानेको खण्डमा भने जारी भएको नोट सामग्रीमा लागू नहुने उल्लेख छ ।
सामुदायिक नोट्सको विवरण
नोट्समा ५०० अक्षरको सीमा हुनेछ र यसमा लिङ्क आवश्यक हुनेछ।
सबै सामुदायिक नोट्सले मेटाको सामुदायिक मानकहरू पालना गर्नु पर्छ। हामी विभिन्न दृष्टिकोणहरूले हाम्रा एपहरूमा देखाइने नोटहरूलाई कसरी प्रभावित गर्छ भन्ने बारेमा पारदर्शी हुन चाहन्छौं र यो जानकारी साझा गर्ने उपयुक्त तरिकामा काम गरिरहेका छौं, कम्पनीको तर्फबाट भनिएको छ ।
योगदानकर्ता को हुन सक्छ ?
इन्स्टाग्राम, फेसबुक र थ्रेड्समा योगदानकर्ता बन्न चाहने प्रयोगकर्ताहरू संयुक्त राज्य अमेरिकामा बसोबास गर्नु पर्नेछ । सुरुमा अमेरिकामा मात्र लागू हुनेछ । १८ वर्ष भन्दा माथि हुनु पर्छ । खाता ६ महिना भन्दा पुरानो र सुस्थितिमा हुनु पर्छ (यद्यपि कम्पनीले यसको स्पष्ट व्याख्या गरेको छैन) र खातामा सत्यापित फोन नम्बर जोडिएको हुनु पर्छ वा दुई चरणीय प्रमाणीकरणमा दर्ता भएको हुनु पर्छ।
सामुदायिक नोट्सको महत्व
मार्क जुकरबर्गको नेतृत्वमा रहेको यो प्रविधि दिग्गजले तेस्रो पक्षको तथ्य जाँच समाप्त गरेर सामुदायिक नोट्स सुरु गर्ने निर्णय गरेको हो। यो निर्णय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सुरु भएपछि आएको हो। यसबाहेक, राजनीतिक सामग्रीमा रहेको प्रतिबन्ध हटाउने र अधिक राजनीतिक पोस्टहरूलाई अनुमति दिने जस्ता अन्य उपायहरू पनि मेटाको नयाँ प्रशासनलाई प्रतिक्रिया स्वरूपको पुनःस्थापना हो भन्ने बताइएको छ। यसले सामाजिक मिडिया पारिस्थितिकीमा कस्तो प्रभाव पार्छ भन्ने बारेमा अझै हेर्न बाँकी छ।
सामुदायिक नोट्स माइक्रोब्लगिङ प्लेटफर्म एक्स (पूर्व ट्विटर) मा पनि छ । जुन एलोन मस्कले प्लेटफर्म अधिग्रहण गरेपछि लागू गरिएको थियो। मस्क अहिले ट्रम्पका सल्लाहकार छन् । रेडिटमा चाहिँ तथ्य जाँचको लागि नोट्स फिचर छैन । यद्यपि यसमा धेरै सामग्रीहरू र सबरेडिटहरू छन्। यस प्लेटफर्मको मोडरेटर कोड अफ कन्डक्टमा मोड हेल्प सेन्टर, कम्युनिटिज फर मोडरेटर्स, र मोडरेटरहरूले रेडिट प्रशासकहरूसँग मुद्दाहरूमा छलफल गर्न सक्छन् ।