२०८२ असार २९ गते आइतवार | 2025 July 13th Sunday

भक्तजनद्वारा पशुपतिनाथको छायाँ दर्शन पर्व मनाईयो

३० माघ, काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल चतुर्दशीका दिन मनाइने पशुपतिनाथको छायाँ दर्शन पर्व मंगलबार पशुपति क्षेत्रमा विशेष रुपमा मनाइएको छ ।
सूर्य उत्तरायणतर्फ लागेर दिन लामा र न्याना हुन थाली हिउँद ओरालो लाग्दा यो पर्व मनाउने गरिन्छ । यस दिन पशुपतिनाथ मन्दिरमा विशिष्ट अर्चना गरेर सर्वसाधारणलाई पशुपतिनाथको शिव लिंगको छायाँ दर्शन गराउने चलन छ ।

पशुपति क्षेत्र विकास कोषको आयोजनामा स्थानीय नेवा समुदायका भक्तजनले पशुपतिनाथको शिव लिंगको पूजा गर्ने र नयाँ मुकुट पहिराउने चलन छ। यसरी पूजा अर्चना सकिएपछि मन्दिरको दक्षिणपट्टिको चोकमा जल भरेर शिव लिंगको छाया प्रतिविम्बित गराई त्यस स्थानमा आउने भक्तजन तथा तीर्थयात्रीलाई दर्शनको प्रबन्ध मिलाइन्छ ।

यस दिन पशुपतिमा विशेष रहन्छ। आराध्यदेवको प्रतिमाको छाया हेर्न भक्तजनको घुइँचो लाग्छ । यसरी छायाँ दिउँसोदेखि साँझको आरती अघिसम्म हेर्न पाइन्छ। हजारौं भक्तजनले लाम लागेर पशुपतिनाथको छायाँ दर्शन गरेको कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख ईश्वर भण्डारीले जानकारी दिए ।

सनातन सभ्यताको केन्द्रबिन्दुका रुपमा इतिहास बोकेको विश्वभरिका हिन्दूको आराध्यदेव पशुपतिनाथमा छायाँ दर्शन हेर्न हजारौँ भक्तजन भेला भएका थिए । पशुपति क्षेत्र देवपतन, जयबागेश्वरी, गौरीघाट, चाबहिल, कुटुम्वाहल, सिफल, गौशाला, पिंगलास्थान र श्लेष्मान्तक वन आसपासको विशाल क्षेत्रमा फैलिएको छ ।

प्रकाशित मिति : २०८१ माघ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस