पोखरा । कोटीहोम महायज्ञ भूमिपूजनमा शुक्रबार झडपको घटनामा यज्ञ आयोजक मानव सेवा फाउण्डेसनले कुनै पनि हालतमा यज्ञ नरोकिने स्पष्ट पारेको छ । फाउण्डेशनका संस्थापक विजय भण्डारीले भने, ‘यज्ञ कसैले रोकेर रोकिनेवाला छैन । कसैले छेकेर छेकिने छैन । कसैको डर, कसैको धाक, कसैको शक्तिले विजयकृष्ण मूर्ति पोखरा छोडेर जानेवाला छैन ।’
उनले संविधानमा लेखेको कुरा मिचेर ‘होलीवाइनका मतियारहरुले’ यो काम गरिरहेको आरोप पनि लगाए । ‘बालयोगेश्वर विजयकृष्ण मूर्ति जस्तोसुकै परिस्थितिमा पनि यज्ञबाट कुनै पनि हालतमा पछि हट्दैन । एक कदम पनि पछि हट्दैन । आज पनि रोक्ने प्रयास थियो, हामीहरु सफल गराएरै छोड्यौं,’ सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले भनेका छन् ।
सम्मानित अदालतले आदेश दिँदादिँदै शक्तिको घमण्ड गरेर, जनताले दिएको करको दुरुपयोग गरेर महानगरले यज्ञ रोक्न महानगर उद्दत रहेको उनको आरोप छ । उनले उक्त कार्य पूरा नियोजितरुपमा भएको पनि दाबी गरेका छन्। पोखराका मेयर धनराज आचार्यलाई लक्षित गर्दै उनले भनेका छन्, ‘तपाईको शक्ति प्रयोग गर्नुभयो । तपाईंमा राष्ट्रिय अन्तर्राष्ट्रियको शक्तिको छायाँ छ।’

