
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल-सीसीसँग टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल र शीघ्र रिहाइका लागि थप पहल गर्न आग्रह गरेका छन्। जवाफमा राष्ट्रपति अब्देलले निरन्तर प्रयास जारी राख्ने बताएका छन्।
प्रधानमन्त्री ओलीले नेपालले इजरायल-हमास युद्धविराम सम्झौताको स्वागत गरिसकेको र त्यसमा इजिप्टको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। साथै, यस मानवीय कार्यमा सहयोगका लागि कतार र अमेरिका सरकारलाई आभार व्यक्त गरे।
प्रधानमन्त्री ओलीले राष्ट्रपति अब्देललाई आगामी जेठ २-४ मा काठमाडौंमा हुने सगरमाथा संवाद कार्यक्रममा निमन्त्रणा गरे, जहाँ जलवायु परिवर्तन, हिमाल, र मानव जीवनबारे विश्वव्यापी छलफल हुनेछ।