
काठमाडौं । भारत, मध्य प्रदेशको इन्दौर जिल्लामा भएको चर्चित जाम गेट घटनामा फास्ट ट्र्याक अदालतले ऐतिहासिक फैसला सुनाएको छ। यो मुद्दाको सुनुवाइ मात्र ५ महिनामा पूरा गर्दै अदालतले ५ जना अभियुक्तलाई आजीवन कारावासको सजाय सुनाएको हो।
चौथो अतिरिक्त सत्र न्यायाधीश आर.एस. दोहरेको इजलासले दोषीहरू मृत्युसम्म जेलमै रहने स्पष्ट आदेश दिएको छ। यो घटनामा एक सैन्य अधिकारी र उनकी महिला साथीलाई बन्धक बनाई लुटपाट, शारीरिक आक्रमण र सामूहिक बलात्कार गरिएको थियो।
यो जघन्य अपराध गत ११ सेप्टेम्बर २०२४ को राति भएको थियो। इन्दौरको जाम गेट नजिकै दुई प्रशिक्षार्थी मेजर आफ्ना महिला साथीहरूसँग घुम्न गएका थिए। त्यही क्रममा हतियारधारी अपराधीहरूको समूहले उनीहरूको गाडी रोकेर आक्रमण गरेको थियो।
अभियुक्तहरूले एक प्रशिक्षार्थी मेजर र उनकी महिला साथीलाई बन्धक बनाए। उनीहरूमाथि शारीरिक आक्रमण गर्नुका साथै लुटपाट गरियो र महिलामाथि सामूहिक बलात्कार भएको थियो। फिरौतीको माग गर्दै बन्धक बनाइएका सैन्य अधिकारीले मोबाइल नेटवर्कमा आउने बित्तिकै आफ्नो सेना युनिटलाई जानकारी गराए। त्यसपछि सेना र प्रहरीको संयुक्त टोली तत्काल घटनास्थलमा पुगे पनि अभियुक्तहरू भागिसकेका थिए।
सुनुवाइका क्रममा प्रहरीले ठोस प्रमाण र साक्षीहरू पेश गर्यो, जसका आधारमा अदालतले दोषीहरूलाई कडा सजाय सुनाउने फैसला गरेको हो। आजीवन कारावासको सजायसँगै अदालतले सामूहिक बलात्कार पीडित महिलालाई ५०,००० रुपैयाँ र अन्य पीडितहरूलाई १०,००० रुपैयाँ क्षतिपूर्ति प्रदान गर्ने आदेश पनि जारी गरेको छ।
यो घटनाले देशभर ठूलो हंगामा मच्चाएको थियो। कांग्रेस नेता तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले सामाजिक सञ्जालमार्फत मध्य प्रदेशको कानून व्यवस्थामाथि प्रश्न उठाएका थिए। यो घटनालाई लिएर सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) र विपक्षी कांग्रेसबीच तीव्र आरोप(प्रत्यारोप चलेको थियो। विपक्षीले राज्य सरकारको सुरक्षाको अवस्थालाई लिएर आलोचना गरे भने सत्तापक्षले घटनालाई राजनीतिकरण नगर्न आग्रह गरेको थियो।