२०८२ फाल्गुन ४ गते सोमवार | 2026 February 16th Monday

बढ्यो बर्ड फ्लु त्रास: उच्च सतर्कता अपनाउन आग्रह

birdflu

काठमाडौं । भारतको महाराष्ट्रमा बर्ड फ्लु देखिएपछि नेपालमा पनि त्रास बढेको छ। सुनसरीको कोशी गाउँपालिका-६ मा फागुन ५ गते बर्ड फ्लु पुष्टि भए पनि नियन्त्रणमा आइसकेको छ। नेपालमा अवैध रूपमा भारतबाट भित्रिने अण्डा, दाना, चल्लाले संक्रमणको जोखिम बढाएको व्यवसायीहरूको भनाइ छ। पोल्ट्री व्यवसायी महासंघका महासचिव दिनेशराज मिश्रले नेपाली उत्पादन सुरक्षित रहेको भन्दै सीमा क्षेत्रमा कडाइ गर्नुपर्ने बताए।

पशु स्वास्थ्य विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार सीमावर्ती क्षेत्रका क्वारेन्टाइनमा उच्च सतर्कता अपनाइएको छ। बर्ड फ्लु फैलिन नदिन जैविक सुरक्षाका उपायहरू अवलम्बन गर्न विशेषज्ञहरूले सुझाव दिएका छन्।

के हो बर्ड फ्लु ?
यो सबै प्रजातिका पन्छीमा लाग्ने एक प्रकारको विषाणुजन्य रोग हो । यसलाई एन्फ्लुइन्जा–१ भाइरस भनिन्छ । यो रोग मान्छे र अन्य पशुहरूमा लाग्छ । पशु चिकित्सक डा. श्रेष्ठका अनुसार बर्ड फ्लुका दुई प्रकार हुन्छन् । एउटा, एचपीएआई (हाइली प्याथलोजेनिक अभइन इन्फ्लुइन्जा) र एलपीएआई (हाइली प्याथलोजेनिक अभइन इन्फ्लुइन्जा) ।

कस्तो हुन्छ लक्षण ?
यो रोग लागेका पन्छीले खाना खान छोड्न थाल्छन् । पन्छी घ्यार घ्यार गर्ने, टाउको सुनिने, सिउर र लोटीहरू निलो हुन्छ । रक्ताश्रावले खुट्टाहरूमा निलो डाम देखापर्ने डा. श्रेष्ठ बताउँछन् । झोक्राएर बस्ने र हरियो सुली छेर्ने गर्छ ।

कसरी सर्छ ?

यो प्रायः जाडो सिनजनमा देखिन्छ र फैलिन्छ । यो फैलिन ४ देखि ५ डिग्री सेल्सियसमा यसले फैलिने मौका पाउँछ । जाडो छल्न नेपाल आएका पाहुना चराहरूमा लक्षण त देखिँदैनन् तर तिनमा बर्ड फ्लु हुने डा. श्रेष्ठ बताउँछन् । ‘सुली ल्याएर सिमसार क्षेत्रमा, फार्महरू सारिदिन्छन्,’ उनले भने, ‘यहाँका कागहरूमा यो लसपस हुन्छ । ती काग हाम्रा घर आउँछन् अनि सार्छन् ।

जसका कारण खुला रूपमा पालिएका कुखुरा र हाँसजस्ता पन्छीमा यो रोग सर्ने गर्छ । मरेका कुखुरा फाल्दा र रोगी कुखुरा बेचबिखन गर्दा पनि यो रोग सर्ने डा. श्रेष्ठ बताउँछन् । यस्तै दाना, भाँडा, कामदारलगायतबाट पनि यो रोग सर्ने गरेको देखिएको उनले बताए । पहिलो पटक यो रोग देखिनुमा भने पन्छीको भूमिका हुने उनको भनाइ छ ।

अन्तिम विकल्प नै नष्ट

विश्वमा यसको खोप लगाउन सुरु भइसकेको छ । नेपालमा यो रोगविरुद्ध खोप सिफारिस हुने प्रक्रियामा छ । फ्लु लागे कुखुरा नष्ट नै गर्नुपर्ने डा. श्रेष्ठ बताउँछन् । ‘जहाँ रोग पुष्टि भयो, त्यहाँको तीन किलो मिटरसम्मको क्षेत्रमा भएका अण्डा, दाना, सुली हामीले नष्ट गर्छौँ,’ उनले भने, ‘उचित तरिकाबाट व्यवस्थापन गर्छौँ । ४२ दिनसम्म कुखुरा पाल्न नमिल्ने गरी सिल गर्छौँ ।’

रोग लाग्नै नदिन के गर्ने ?

बर्ड फ्लु लाग्नै नदिन जैविक सतर्कता अपनाउनु उत्तम हुने डा. श्रेष्ठ सुझाउँछन् । अरू पन्छीसँग बजारबाट ल्याइएका पन्छी मिसाएर राख्न नहुने र करिब १४ दिन बथानबाट टाढा राख्नुपर्ने पनि उनले बताए । साथै कुखुराको फार्मबाहिर ५० र भित्र १०० प्रतिशत भाइरस संक्रमणको डर हुने उनले बताए । खोरको दूरीअनुसार भाइरस संक्रमणको प्रतिशत घट्दै जाने पनि उनको भनाइ छ । त्यसैले स्प्रे गर्दा फार्म, फार्मका वरिपरि मजाले छर्किने र खोरमा आउजाउ गर्न छुट्टै जुत्ता प्रयोग गर्न उनले सुझाव दिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस