
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजावादीहरुको प्रदर्शनबाट आफू विचलित नभएको बताएका छन् । सोमबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डलाई पत्रकारले ‘राजावादीहरूको प्रदर्शनले मन, मुटु हल्लिएको हो ?’ भन्ने प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले भनेका छन्, ‘यो प्रदर्शनले केही हल्लाएको छैन । केही भएको छैन । केको डराउनु । त्यस्तो लडाईंको बीचमा त्यस्तो गर्दा त डराइएन यहाँ त अहिले ।’
सरकारले जनताका लागि काम गर्न नसक्दा जनता निराश भएको बताउँदै प्रचण्डले राजावादीहरूको प्रदर्शनको काउण्टरमा जाने हो भन्ने प्रश्नमा आफूहरू सल्लाह गरिरहेको जवाफ दिए । उनले यसको जिम्मेवारी सरकारले लिनु पर्ने बताए । सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ,’ प्रचण्डले भने, ‘जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन ।
सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन छ । त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको जस्तो देखिन्छ । हामी सल्लाह गर्दैछौँ । अध्यक्ष दाहालले सरकार अझै पनि नागरिकप्रति उत्तरदायि नरहेको र त्यसको फाइदा प्रतिक्रियावादी शक्तिहरूले लिएको जिकिर गरे ।’