२२ फागुन, काठमाण्डौँ । अवैध बाटोबाट अमेरिका पुगेका नेपालीहरू धमाधम हत्कडी लगाएर स्वदेश फिर्ता भइरहँदा ‘डंकी रुट’ बाट अमेरिका पठाउने गिरोहका एक जना नाइकेविरुद्ध भने भर्खरै अदालतमा मानव बेचबिखन तथा ओसारपसारको कसुरमा मुद्दा दायर भएको छ ।
८ नेपाली अमेरिकाबाट डिपोर्ट भएर काठमाडौं आएकै दिन २१ फागुनमा अमेरिका पठाउने मानव तस्करका मुख्य नाइके हस्त गौतमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वी रुकुमको सिस्ने गाउँपालिका–३ मा जन्मिएका ५३ वर्षीय गौतम नेपाली मुलका अमेरिकी नागरिक हुन् ।
उनै गौतमसहित सात जनाविरुद्ध बुधबार मुद्दा दर्ता भएको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता गोविन्द हुमागाईंले गौतमसहितका व्यक्तिविरुद्ध मुद्दा दायर गरेका हुन् । ह्विल चियरको साहारमा हिँडडुल गर्ने अपांगता भएका गौतम विगत एक वर्षदेखि केन्द्रीय कारागार सुन्धारामै बन्दी जीवन बिताइरहेका छन् । ब्यूरोका प्रमुख एसएसपी जीवन श्रेष्ठ भएको बेला पक्राउ परेका गौतम यसअघि नै तीन वटा मानव बेचबिखनको कसुरमा पुर्पक्षका लागि कारागार चलान भएका थिए ।
अहिले उनै गौतमविरुद्ध चौथो मुद्दा दायर भएको छ । तल्लो बाटो डंकी रुटबाट अमेरिका पठाउने सुरुवातकर्ता नै गौतम हुन् । उनले प्रहरीसमक्ष उक्त कुरा स्वीकार समेत गरेका थिए । पटकपटक गरेर २६ बबरमहलले ६० लाख ४० हजार गौतमलाई बुझाइन् । १३ जेठ २०७९ मा अमेरिका पठाउने भन्दै २६ बबरमहललाई थाइल्यान्ड पुर्याइयो । २६ बबरमहलसँगै ज्ञानेन्द्र गौतम पनि थाइल्यान्ड गए । थाइल्यान्ड पुगेपछि फेरि पैसा हाल्नु भनेकाले उनले ८ लाख ४० हजार लागेको बताएकी छिन् ।
‘सय बढी व्यक्तिलाई डंकी रुटबाट अमेरिका’
ब्यूरो स्रोतका अनुसार तल्लो बाटो डंकी रुटबाट अमेरिका पठाउने सुरुवात गर्ने व्यक्ति नै गौतम हुन् । उनले प्रहरीसमक्ष उक्त कुरा स्वीकार समेत गरेका थिए । ‘डंकी रुट नै मैले सुरु गरेको हो । कसैलाई बेचेको होइन । जान चाहनेलाई त्यहाँसम्म पुग्न लाग्ने खर्च लिएर पठाइदिएको हुँ । उनीहरूको उद्धार नै गरेको हुँ,’ गौतमको भनाइलाई उद्धृत गर्दै एक अनुसन्धान अधिकृतले अनलाइनखबरसँग भने । गौतमको प्रत्यक्ष निर्देशन र योजनामा सय बढी व्यक्ति डंकी रुटबाट अमेरिका पुगेको ब्यूरो स्रोत बताउँछ । उनले विशेषगरी रुकुम, रोल्पा, दाङका मनिसबाट करोड हाराहारीको रकम बुझेर डंकी रुट हुँदै अमेरिका पुर्याएको ब्यूरोका अधिकारीहरूले बताएका थिए ।

