काठमाडौं। चोर बाटो हुँदै गैरकानुनी रूपमा अमेरिका पुगेका ८ नेपालीलाई हत्कडी र खुट्टामा चेन लगाएर चार्टर विमानमार्फत नेपाल फर्काइएको छ। ग्रिफान एयरको चार्टर विमानले बिहीबार बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनीहरूलाई ओराल्यो। एक जना भने कतार एयरलाइन्समार्फत फर्किएका थिए। अमेरिकाले उनीहरूलाई कागजातविहीन र गैरकानुनी प्रवेशको आरोपमा डिपोर्ट गरेको हो।
प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा बुझाइएका उनीहरूले २४ घण्टासम्म विमानमा हत्कडी र चेन लगाइएको बयान दिएका छन्। ट्रान्जिटमा खुट्टाको चेन खोलिए पनि खाना र बाथरुममा कडाइ गरिएको थियो। काठमाडौँमा विमान अवतरणपछि मात्र हत्कडी खोलिएको उनीहरूले बताए। दाङ, रुकुम, पूर्वी रुकुम र डोटीका यी युवाले पानामा, ब्राजिल र मेक्सिको हुँदै ५० देखि ९० लाख खर्चेर अमेरिका पुगेका थिए। तर, ५ देखि ९ महिना हिरासतमा बसेपछि फर्काइए।
अध्यागमन कार्यालयले उनीहरूलाई प्रहरीलाई जिम्मा लगाएको छ। ब्युरोका एसपी रुगम कुँवरका अनुसार २ घण्टा सोधपुछ गरिए पनि एजेन्टबारे उनीहरूले केही खुलाएनन्। उनीहरूले लामो यात्रा र ठूलो खर्चपछि फर्किनुपरेकोमा हतोत्साह देखाए। अमेरिकाले डोनाल्ड ट्रम्पको नेतृत्वमा गैरकानुनी आप्रवासीविरुद्ध कडाइ गरेको छ, र हालसम्म ३५ नेपाली डिपोर्ट भइसकेका छन्।

