२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

राजा फर्काउने आन्दोलनबाट लिङ्देन आउट, दुर्गा प्रसाईं कमान्डर, निर्मल निवासमा के भयो ?

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले कमान्डर तोकेको छ। पूर्वराजा ज्ञानेन्द्र शाहलाई पुनः सत्तामा ल्याउने उद्देश्यसहित गठन भएको समितिले शुक्रबारको आन्दोलनका लागि प्रसाईंलाई नेतृत्व दिएको हो।

बिहीबार चाबहिलको स्मार्ट पार्टी प्यालेसमा आयोजित पत्रकार सम्मेलनमा समिति संयोजक नवराज सुवेदीले प्रसाईंलाई कमान्डर तोकिएको जानकारी दिए। राजावादी समूहले उनको नेतृत्वमा शुक्रबार काठमाडौंमा प्रदर्शन गर्न लागेका छन्, जसका लागि जिल्ला प्रशासन कार्यालयले तीनकुनेलाई स्थान तोकेको छ।

यसअघि बिहीबार नै प्रसाईं निर्मल निवास पुगेर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका थिए। फागुन २५ मा पनि उनी निर्मल निवास जान खोजेका थिए, तर त्यसबेला प्रवेश पाएका थिएनन्। बिहीबार सुवेदीसमेत शाहसँग भेटेका छन्।

यसैबीच, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन संयुक्त आन्दोलनबाट अलग रहने अडानबाट पछि हटेका छन्। पार्टीभित्र अधिकांश नेताहरू एकजुट हुनुपर्ने पक्षमा उभिएपछि उनले छुट्टै आन्दोलन चर्काउने रणनीति परिवर्तन गरेका हुन्। पूर्वराजाले राजसंस्था पुनःस्थापनाका लागि संयुक्त आन्दोलन समिति गठन गर्दै नेतृत्व सुवेदीलाई दिएका छन्, जसले राप्रपाभित्र असन्तुष्टि बढाएको देखिन्छ।

प्रकाशित मिति : २०८१ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस