
२६ चैत्र, काठमाडौँ । काठमाडौं उपत्यका विश्वका प्रदूषित शहरहरूमध्ये पहिलो नम्बरमा परेको छ । वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले बिहान साढे ७ बजे गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदूषित शहरको सूचीमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको औसत वायु गुणस्तर सूचक (एक्यूआई) २६२ रहेको छ । यसलाई निकै खतरनाक अवस्था मानिन्छ । यस्तै, नेपाल पछि दोस्रो नम्बरमा भारतको दिल्ली १७९, भियतनामको हनोइ १७७ तेस्रो तथा पाकिस्तानको लाहोर १७२ चौथो स्थानमा छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
यता अत्यधिक वायु प्रदूषणका कारण आन्तरिक उडानहरू प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार भिजिबिलिटी कम हुँदा केही उडानहरू समयमा हुन नसकेको हो । जसअनुसार काठमाडौँबाट समिट एयरको लुक्ला उड्नुपर्ने जहाज डिले भएको छ । यस्तै यती एयरलाइन्सको पोखरा उड्नुपर्ने जहाज र बुद्ध एयरको भरतपुर उड्नुपर्ने जहाज पनि डिले भएको छ ।