
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्राको पाँचौं दिन सोमबार भेलुखेलस्थित यसींँख्योमा ५५ हात लामो यसीद्यः (लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भयो। पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षको स्वागत गर्न गरिएको यो परम्परामा साँझ ६ः३२ बजे तान्त्रिक विधिपूर्वक पूजा गरी लिङ्गो ढालिएको थियो।
भैरवनाथको प्रतीक मानिएको यो लिङ्गो आठ वटा डोरी फुकाएर सबैतिर तानातान गरी ढालिन्छ। जात्रापछि तलेजुमा विशेष पूजा गरिन्छ र भैलखः र भद्रकालीको रथलाई गःहिटि पुर्याई रथ जुधाउने परम्परा निर्वाह गरिन्छ।
यो जात्रा हेर्दा सुख, समृद्धि र शत्रुनाश हुने धार्मिक मान्यता छ। यसलाई शत्रुहन्ता जात्रा पनि भनिन्छ। यो विशेष अवसरले भक्तपुरका बासिन्दाको आस्था र परम्पराको सुन्दर झलक प्रस्तुत गरेको छ।