
काठमाडौं। काठमाडौंको तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका कारण पक्राउ परेका राप्रपा नेता रविन्द्र मिश्र र डा. धवल शमशेर राणाको बयान लिन थालिएको छ। दुवै नेतालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर बयान लिने प्रक्रिया अघि बढाइएको हो।
उनीहरूविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको अभियोग लगाइएको छ। मुलुकी अपराध संहिता अनुसार यस्तो कसुरमा २५ वर्षसम्म कैद सजाय हुन सक्छ।
तीन जनाभन्दा बढी मिलेर हिंसात्मक काम गरेमा संगठित अपराध मानिने कानुनी व्यवस्था छ। प्रदर्शनका क्रममा तोडफोड, आगजनी र झडप हुँदा दुईजनाको ज्यान गएको थियो।
तीनकुनेको प्रदर्शनमा मिश्र र राणा दुबै सहभागी थिए। त्यसपछि राति ललितपुरबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हाल उनीहरू काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।