
काठमाडौं । मन्त्रिपरिषद्को बैठक भर्खरै सकिएको छ । शिक्षामन्त्री विद्या भट्टराईले दिएको जानकारी अनुसार आन्दोलनरत शिक्षकहरुका मागमा सरकार केन्द्रीत भएको छ । मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु यस्ता छन् ।
१, संघीय संसदमा विचचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसदको अधिवेशन आह्वान गरी सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने, यसका लागि वैशाख १२ गते शुक्रबार दिउँसो १ बजे संघीय संसद बैठकको आह्वान गर्ने निर्णय ।
२, नेपाल शिक्षक महासंघले उठाएका मागहरुको यथोचित सम्बोधन गर्ने सम्बन्धमा संवाद निरन्तर रहेको र अझै संवाद गर्न सरकार संवेदनशील र गम्भीर रहेको छ । यथोचित मागको सम्बोधन गर्न सरकार तयार छ ।
३, नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आ–आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय ।