
४ बैशाख, सुर्खेत । दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा रिजुका गुरुङ बलामीको मृत्यु भएको एक वर्षपछि अदालतले क्षतिपूर्तिको फैसला सुनाएको छ । २०८० चैतमा पेट दुखेर निजी अस्पताल हुँदै प्रदेश अस्पताल पुगेकी उनलाई प्रसूतिको क्रममा पाठेघरमा सालनाल बाँकी रहेको भन्दै डाक्टरहरूले पाठेघर सफा गर्नुपर्ने बताएका थिए । शल्यक्रियाका लागि तयारी गर्दागर्दै उनलाई मृत घोषणा गरिएको थियो ।
०८१ वैशाख १७ गते जेठाजु धनबहादुर मगरले अधिवक्ता शेरबहादुर खत्रीको साथमा अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र शल्यक्रियामा संलग्न डा। ललितजङ्ग शाहीविरुद्ध मुद्दा हालेका थिए । डाक्टरहरूको लापरबाही, त्रुटिपूर्ण शल्यक्रिया र हेलचेक्र्याइँका कारण भीमाको ज्यान गएको जिकिरसहित उनीहरूले क्षतिपूर्तिको माग गरेका थिए । ठिक एक वर्षपछि ०८१ साल चैत २९ गते, सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले फैसला सुनाए– भीमाका पति र छोरीलाई प्रतिवादीहरूबाट १५ लाख रूपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेका हुन् ।