
६ बैशाख, धनगढी । अछामको चौरपाटी गाउँपालिकाकाकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन् । गत असारमा मामा नाता पर्नेबाट भारतको सुरतमा बलात्कृत भएकी १२ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी हुन् ।
उनी बलात्कृत भएको गत फागुन महिनामा मात्रै थाहा भएको थियो । त्यतिबेला उनको गर्भ २५ सातामाथिको रहेको पुष्टि भएको थियो । बालिकाले २९ चैतमा सेती प्रादेशिक अस्पताल धनगढीमा छोरीलाई जन्म दिएकी हुन् ।
भारतबाट केही महिनाअघि घर फर्किएका अभिभावकले छोरीको पेट ठूलो देखेपछि गत फागुन २ गते बयालपाटा अस्पतालमा जाँचका लागि लगेका थिए । सोही क्रममा उनको भेटमा २५ सातामाथिको गर्भ रहेको पत्ता लागेको हो । बलात्कारका आरोपित भने अहिलेसम्म फरार अवस्थामा रहेका छन् । झण्डै ५० वर्षीय आरोपितविरुद्ध अछाम प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता छ ।