
५ बैशाख, काठमाण्डौँ । पेरुकी पूर्वप्रथम महिला नादिन हेरेडिया भागेर ब्राजिल पुगेकी छिन् । पेरूको अदालतले उनी र उनका श्रीमान् पूर्वराष्ट्रपति ओलान्ता हुमालालाई सम्पत्ति शुद्धीकरणको आरोपमा १५ वर्षको जेल सजाय सुनाएपछि उनी देश छाडेर भागेकी हुन् । ब्राजिलले उनलाई कूटनीतिक शरण दिएको जनाइएको छ।
पेरुको विदेश मन्त्रालयका अनुसार उनले मंगलबार बिहान राजधानी लिमास्थित ब्राजिलियन दूतावासमा शरणका लागि अनुरोध गरेकी थिइन् । जवाफमा ब्राजिलले पनि उनलाई र उनको छोरालाई शरण दिएको हो । र, पेरुभियन सरकारले उनीहरूको सुरक्षित यात्राको ग्यारेन्टी प्रदान गरेको थियो ।
हेरेडियाका वकिलका अनुसार उनले एक अनिर्दिष्ट पारिवारिक कारणले शरणको लागि आवेदन दिएकी थिइन् ।