२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रेम विवाह पछि शारीरिक र मानसिक यातनाको शिकार भएकी जानदेवीको रहस्यमयी मृत्यु

६, बैशाख काठमाण्डौँ । अत्तरियामा घरेलु हिंसाबाट पीडित जानदेवी बुढाको मृत्यु भएको छ । न्यायको खोजीमा अनेक निकाय धाएका उनी अन्ततः आफ्नै घरमा मृत अवस्थामा फेला परेकी हुन् । बर्दियाको बाँसगढी नगरपालिका–३ सल्यान टोलकी २३ वर्षीया जानदेवीले डेढ वर्षअघि कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियाका कृष्णबहादुर रावलसँग प्रेम विवाह गरेकी थिइन् । प्रारम्भमा सम्बन्ध सामान्य देखिए पनि केही समयपछि श्रीमान र सासूको व्यवहार क्रूर बन्दै गयो । सासू गुमादेवी रावलबाट शारीरिक तथा मानसिक यातना, कुटपिट, खान नदिनेजस्ता दुर्व्यवहार भएको भन्दै जानदेवीले पटक–पटक प्रहरीमा उजुरी दिएकी थिइन् ।

तर, प्रहरीको मध्यस्थतामा पीडित र पीडक पक्षबीच मिलापत्र गराइयो । घटनामा सुधार नआएपछि जानदेवी गोदावरी नगरपालिका न्यायिक समिति र महिला तथा बालबालिका सेभ हाउस समेत पुगिन् । तर पनि उनले कहींबाट पनि न्याय पाइनन् ।

गएको बिहीवार राति जानदेवीले आफ्ना भाइ सुरजित बुढालाई सन्देश पठाउँदै भनेकी थिइन्, “सबै जना लागेर कुट्न लागेका छन् । गाली गर्छन् । पागल भन्छन् ।” उक्त सन्देश पठाएको भोलिपल्ट शुक्रबार बिहान उनी घरको कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन् । प्रहरीले कोठाको सिँढीमा झुन्डिएको अवस्थामा शव भेटिएको जनाएको छ ।

भाइ सुरजितका अनुसार शवको घुँडा भुइँमा टेकिएको र शरीरमा चोटपटकको अवस्था देखिएको थियो । उनका अनुसार जानदेवीको मृत्यु आत्महत्या नभई हत्या हुन सक्ने शंका छ ।

जानदेवीले प्रहरी, न्यायिक समिति, माइती पक्ष र सुरक्षित आवास गृह सबै निकायमा सहयोग मागेकी थिइन् । तर पनि उनलाई निरन्तर यातनाबाट बचाउन सकिएन । उनका काका नरबहादुर भण्डारीले समेत जानदेवीले बिहीबार राति फोन गरेर कुटपिट भइरहेको बताएका थिए । उनले जानदेवीलाई कोठामा बसेर सुरक्षित रहन भनेका थिए । मृतकका भाइ सुरजित बुढाले श्रीमान कृष्ण रावल २४ र सासू गुमादेवी रावलविरुद्ध आत्महत्या दुरुत्साहनको जाहेरी दर्ता गरेका छन् । इलाका प्रहरी कार्यालय, मालाखेतीमा दर्ता गराइएको सो उजुरीअनुसार दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी प्रमुख गंगाबहादुर थापाका अनुसार प्रारम्भिक रुपमा आत्महत्या जस्तो देखिए पनि घटनाको वास्तविकता पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताए । यसअघि जानदेवीले घरेलु हिंसाको ठाडो निवेदन दिएकी थिइन् तर त्यसमा पनि परिवारलाई समेटेर मिलापत्र गरिएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस