
६ बैशाख, काठमाण्डौँ । टेस्ला, एक्सएआई, स्पेसएक्स, द बोरिङ कम्पनी, न्युरालिंकजस्ता कम्पनीका मालिक मस्क विश्वकै धनाढ्य अर्बपति हुन् । अमेरिकी अखबार फेर्ब्सका अनुसार मस्कको कुल सम्पत्ति ३ खर्ब ६४ अर्ब अमेरिकी डलर बराबर छ ।
अहिले भने उनी समाचारको हेडलाइन बनेका छन् । त्यो कारण हो– टिफनी फोङ नाम गरेकी युट्युबर । फोङका अनुुसार उनलाई मस्कले आफ्ना सन्तानको आमा बन्न ‘अफर’ गरेका थिए । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचार अनुसार फोङले मस्कको उक्त ‘अफर’ अस्वीकार गरेकी थिइन् । आफू परम्परागत परिवारको पक्षमा रहेको भन्दै मस्कको अफर अस्वीकार गरेको फोङको भनाइ छ । फोङ र मस्कबीच अहिलेसम्म भेट नभएको वाल स्ट्रिट जर्नलले जनाएको छ ।
हुन पनि मस्क सन्तानोत्पादनका लागि परिचित छन् । उनले विभिन्न महिलाहरुबाट हालसम्म १४ जना सन्तान पैदा गरेका छन् । र, उनका सन्तानका नाम पनि निकै अनौठा छन् । यद्यपि मस्कसँग निकट रहेकाहरु भने उनका सन्तानको वास्तविक सन्तानको संख्या त्योभन्दा धेरै रहेको हुनसक्ने बताउँछन् । एक पटक उनकी छोरीले भनेकी थिइन्– ‘मेरा कति दाजुभाइ दिदीबहिनी छन् भन्ने मलाई पनि थाहा छैन ।’
गत फेब्रुअरी महिनामा लेखिका एश्ले सेन्ट क्लेयरले आफूले मस्कको बच्चालाई जन्म दिएको सार्वजनिक गरेकी थिइन् । त्यस बच्चाको नाम रोमुलुस राखिएको छ । बच्चालाई जन्म दिएबापत मस्कले सेन्ट क्लेयरलाई एकमुष्ठ १ करोड ५० लाख डलर अर्थात् २ अर्ब नेपाली रुपैयाँभन्दा धेरै र बच्चा २१ वर्षको नहुन्जेलसम्म प्रतिमहिना १ लाख डलर अर्थात् साढे १३ करोड नेपाली रुपैयाँभन्दा धेरै पैसा दिने बाचा गरेको जर्नलले उल्लेख गरेको छ ।
त्यसबाहेक आफ्नो कम्पनीकी कार्यकारी शिभोन जिलिससँग मिलेर मस्कले ४ सन्तानलाई जन्म दिएका थिए । सन् २०२१ मा जिलिसले गोप्य रुपमा छोरा स्ट्रिडर र छोरी अजुरलाई जन्म दिएकी थिइन् । सन् २०२३ मा मात्रै उनीहरुले जुम्ल्याहा छोराछोरीको नाम र लिंग सार्वजनिक गरेका थिए ।