२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षक आन्दोलन अझै चर्काउने, देशभरका शिक्षकलाई काठमाडौँ आउन सर्कुलर

७ बैशाख, काठमाण्डौँ । विद्यालय शिक्षा विधेयक २०८१ को छिटो पारित हुनुुपर्ने लगायतका माग राख्दै काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूको आन्दोलन अझ चर्किने संकेत देखिएको छ । शिक्षक महासंघले सरकारले आन्दोलनप्रति गम्भीरता नदेखाएको भन्दै ७७ वटै जिल्लाबाट थप शिक्षकलाई काठमाडौं बोलाउने निर्णय गरेको छ ।

शुक्रबार राति प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग भएको छलफलले अपेक्षित नतिजा नदिएपछि महासंघले आन्दोलनलाई नयाँ चरणमा लैजाने रणनीति बनाएको हो । महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समितिकी संयोजक नानुमाया पराजुलीका अनुसार, अब कुनै पनि विद्यालयमा शिक्षक नरहने गरी आन्दोलनलाई राष्ट्रिय रूप दिइनेछ । ‘शिक्षकहरू अब झन् व्यापक रूपमा काठमाडौं आउनुहुनेछ,’ उनले भनिन् ।

शनिबार साँझ भोजपुरको साल्पासिलिछोबाट राजधानी आइपुगेका शिक्षक रविन राईले देशभरबाट गाडी रिजर्भ गरेर शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं आइरहेको जानकारी दिए । ‘अहिले पनि थुप्रै गाडी काठमाडौं छिर्दै छन्,’ उनले भने ।

शिक्षकहरूले माग गरिरहेको विद्यालय शिक्षा विधेयक अझै संसद्मा टेबुल भएको छैन । प्रधानमन्त्री ओलीले १२ वैशाखमा विधेयक संसद्मा प्रस्तुत गर्ने र १३ वैशाखमा पारित गरिने आश्वासन दिए पनि विगतका सम्झौताहरू कार्यान्वयन नभएको अनुभवका कारण आन्दोलनरत शिक्षकहरू आश्वस्त देखिएका छैनन् ।

प्रकाशित मिति : २०८२ बैशाख ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस