२०८२ जेष्ठ ७ गते मङ्गलवार | 2025 May 20th Tuesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

शिक्षक आन्दोलन नरोकिए पनि अब यसरी गराइनेछ कक्षा १२ को परीक्षा

९ बैशाख, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यही वैशाख ११ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा नरोक्ने निर्णय गरेको छ । आज बिहान बसेको बोर्डको बैठकले १२ को परीक्षा निर्धारित समयमा नै गर्ने निर्णय गरेको हो । निजामती कर्मचारी खटाएर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । कक्षा १२ को वार्षिक परीक्षा यही वैशाख ११ गते बिहीबारदेखि सञ्चालन गर्ने तयारी छ ।

देशैभरिका सामुदायिक विद्यालयका शिक्षकहरु तीन सातादेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेका कारण परीक्षाप्रति संशय सिर्जना भएको थियो। बोर्डले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख ११ गते बिहीबारदेखि सञ्चालन हुने परीक्षा २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ ।

परीक्षा नियन्त्रक शर्माले परीक्षा सार्दा गलत सन्देश जाने तथा विद्यार्थीको समय खेर जाने भएकाले परीक्षा तोकिएकै समयमा सञ्चालन गरिने जानकारी दिए । ‘जिल्ला जिल्लामा सीडीओले कर्मचारी परिचालन गरेर, नेपाल सरकारले जिम्मा लिने गरी तोकिएकै समयमा परीक्षा लिने निर्णय भएको छ,’ शर्माले सुनाए, ‘कक्षा १२ को परीक्षा पूर्व निर्धारित समयमै हुन्छ । कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ ।’ प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको परीक्षा नियन्त्रक शर्माले बताएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस