काठमाडौं । राजधानीको सुन्धारास्थित आकाशे पुलमुनि सर्वसाधारणमाथि कुटपिट गरेका चार ट्राफिक प्रहरीलाई कारबाही गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दिपक गिरीका अनुसार, उनीहरूलाई जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाएर अनुसन्धान थालिएको छ।
घटना मंसिर ११ गतेको भए पनि त्यसको भिडिओ बिहीबार बिहान सार्वजनिक भएपछि ट्राफिक प्रहरीको व्यवहारप्रति तीव्र आलोचना सुरु भएको थियो । भिडिओमा चार जना ट्राफिक प्रहरीले एक व्यक्तिलाई लडाएर बुटले कुटपिट गरेको र कागजपत्र भुइँमा फ्यालेको देखिन्छ।
कार्यालयले चारै जनालाई कार्यालयमा झिकाएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार

