भारतको मध्य प्रदेशको दमोहस्थित एक निजी क्रिश्चियन मिसनरी अस्पतालमा ुनक्कलीु डाक्टरले मुटुका बिरामीहरूको शल्यक्रिया गर्दा कम्तीमा ७ जनाले ज्यान गुमाएका छन्। घटना सार्वजनिक भएपछि अस्पताल, प्रशासन र सरकारी योजनाको लापरवाही समेत उजागर भएको छ।
एन। जोन केम नाम बताउने एक व्यक्तिले आफूलाई बेलायतका चर्चित हृदय रोग विशेषज्ञको रूपमा चिनाउँदै अस्पतालमा जागिर खाएका थिए। उनले बिना प्रमाणपत्र नक्कली नाम र कागजात प्रयोग गरेर दर्जनौं बिरामीको शल्यक्रिया गरे। तीमध्ये सात जनाको केही दिनमै मृत्यु भएको पुष्टि भएको छ।
बढ्दो गुनासो र मृत्युपछि खुल्न थालेको यथार्थ
घटनाको छानबिनका क्रममा थाहा भयो, डाक्टरको नक्कल गर्ने व्यक्तिको वास्तविक नाम नरेन्द्र विक्रमादित्य यादव हो। हैदराबादमा समेत उनका विरुद्ध आपराधिक मुद्दा दर्ता भएको पाइएको छ। मृतकको संख्या सात मात्र नभई अझ बढी हुन सक्ने शंका अधिवक्ता दीपक तिवारीले गरेका छन्। उनका अनुसार केही परिवारले अन्तिम समयमा बिरामीलाई अन्यत्र लगेर ज्यान जोगाएका थिए।
सरकारी योजना पनि संलग्न
नक्कली डाक्टर कार्यरत रहेको अस्पताल ‘आयुष्मान भारत’ योजनामा समेत सूचीकृत रहेको पाइएको छ। राष्ट्रिय मानव अधिकार आयोगले यस विषयमा गम्भीर ध्यान दिएको जनाएको छ। आयोगका सदस्य प्रियांक कानुनगोले भने, “सरकारी योजनाबाट पैसा लिने अस्पतालमा यस्तो लापरवाही गम्भीर अपराध हो।”
प्रहरी र प्रशासनको प्रतिक्रिया
दमोहका एसपी अभिषेक तिवारीका अनुसार, “अहिले मिसनरी अस्पतालमा भएका मृत्युहरूबारे अनुसन्धान चलिरहेको छ। अस्पतालबाट कागजात जफत गरिएको छ।” जिल्ला कलेक्टर सुधीर कोचरले भने, अनुसन्धानपछि मात्र विस्तृत विवरण सार्वजनिक गरिनेछ।
यो घटना भारतमा स्वास्थ्य सेवा प्रणाली र नियमनको चरम लापरवाहीको संकेत हो। यस्तो संवेदनशील क्षेत्रमा पृष्ठभूमि जाँच नगरी काममा राख्नु र ज्यानको जोखिम मोल लिनु सम्बन्धित निकायहरूको गम्भीर कमजोरी हो।

