२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

प्रहरीलाई ठूलो सफलता : गम्भीर अपराधमा संलग्न २१ जना पक्राउ, १७ अर्ब ८६ करोड काण्ड खुल्यो

काठमाडौँ। अवैध वित्तीय कारोबारमा संलग्न रहेको अभियोगमा केन्द्रीय अनसुन्धान ब्यूरोबाट खटिएको प्रहरीले २१ जनालाई पक्राउ गरेको छ। यी २१ जनामा विभिन्न मनि ट्रान्सफर कम्पनीका संचालकहरू र अन्य व्यक्तिहरू समावेश छन्।

पक्राउ पर्नेमा मोरङका ५९ वर्षीय विरेन्द्र प्रसाद साह, ३१ वर्षीय दिपेन्द्र प्रसाद साह, महोत्तरीका २४ वर्षीय श्रवण कुमार साह, सप्तरीका ३२ वर्षीय तारालाल यादव, ३५ वर्षीय राम विलास साह तेली, ३२ वर्षीया ममता कुमारी साह, ३१ वर्षीया शुसिला कुमारी साहु, २२ वर्षीय शम्भु मेहता, सर्लाहीका २५ वर्षीय हरेराम महतो, धनुषाका ३१ वर्षीय निरोज कुमार महतो, ४५ वर्षीया अलिता देवी महतो, ३५ वर्षीय प्रकाश सिंह, २७ वर्षीय अरूण कुमार साह, ४४ वर्षीय संजिव कुमार महतो, पर्साका २६ वर्षीय प्रदिप कुमार साह, ३२ वर्षीय बिकर्ण जंग राणा, ३८ वर्षीय सलमा खातुन, नवलपरासीका २२ वर्षीय राज कमल लोनिया, ४३ वर्षीया भीम कुमारी गुरूङ, ३४ वर्षीय गणपति पाण्डे, र चितवनका ६४ वर्षीय गोबिन्द प्रसाद आचार्य रहेका छन्।

प्रारम्भिक अनुसन्धानका क्रममा अवैध वित्तीय कारोबारमा संलग्न यी व्यक्तिहरूले नेपालमा मनी ट्रान्सफरको नाममा विदेशी विप्रेषणको रकमलाई अवैध रूपमा संलग्न व्यक्तिहरूसम्म पुर्याउने कार्य गरेका थिए। उनीहरूले विदेशबाट प्राप्त हुने विप्रेषण रकमलाई नेपालमा अवैध कारोबारका लागि प्रयोग गरेका छन्, जसमा भन्सार चोरी, सुनको अवैध कारोबार, कर छली लगायतका गतिविधिहरू समावेश छन्।

यसैगरी, अवैध कारोबारबाट प्राप्त गरेको गैरकानूनी रकमलाई डिजिटल वालेट कम्पनीहरूको माध्यमबाट नेपालका विभिन्न बैंक खाताहरूमा जम्मा गर्ने काम मनी म्यूलहरूको मद्दतले भइरहेको थियो। त्यहाँबाट सो रकमलाई विभिन्न मनि ट्रान्सफर कम्पनीहरू मार्फत विदेशमा रहेका नेपाली कामदार र विद्यार्थीका परिवारका खातामा ट्रान्सफर गरिने प्रक्रिया रहेको खुलेको छ। यस प्रकारको कारोबारमा १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १ सय ७ रूपैयाँ बराबरको रकम संलग्न भएको अनुसन्धानले पत्ता लगाएको छ।

प्रहरीले पक्राउ गरेका यी व्यक्तिहरू विरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम थप आवश्यक अनुसन्धान भइरहेको छ। प्रहरीले यस अवैध कारोबारको जडसम्म पुग्ने प्रयास गर्दै थप अनुसन्धानलाई तीव्रता दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस