काठमाडौं, चैत २२ । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा छैटौँ बिम्स्टेक (बङ्गालको खाडीको प्रयास) शिखर सम्मेलनमा सहभागी भई आज शनिबार स्वदेश फर्किएका छन्।
प्रधानमन्त्री ओली चैत १९ गते २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्को मैत्रीपूर्ण निमन्त्रणामा बैंकक प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन गर्नुका साथै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत विभिन्न राष्ट्रप्रमुख तथा सरकार प्रमुखसँग आपसी हित र चासोका विषयमा द्विपक्षीय छलफल गरेका थिए।
थाइल्याण्डमा आयोजित शिखर सम्मेलनअन्तर्गत प्रधानमन्त्री ओलीले चैत २१ गते सदस्य राष्ट्रका नेताहरूको सम्मानमा आयोजित रात्रिभोजमा समेत सहभागिता जनाएका थिए। चैत २२ गते औपचारिक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले क्षेत्रीय सहयोग, आर्थिक विकास, र समावेशी प्राविधिक साझेदारीमा जोड दिएका थिए।
प्रधानमन्त्री ओलीको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे लगायत उच्चपदस्थ सरकारी अधिकारी तथा सुरक्षा अङ्गका प्रमुखहरू उपस्थित थिए।
नेपालस्थित कूटनीतिक समुदायका डीन, नेपालका लागि इजिप्टका राजदूत तथा थाइल्याण्डका कार्यवाहक राजदूत पनि प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थल पुगेका थिए। प्रधानमन्त्री आगमनको अवसरमा नेपाली सेनाले विशेष सम्मान गारत अर्पण गरेको थियो।
प्रधानमन्त्रीसँगै प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, र परराष्ट्र सचिव अमृत राई पनि स्वदेश फर्किएका छन्।


