२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

प्रहरी दमनबाट डगमगाएन शिक्षक आन्दोलन : २७औं दिनमा हजारौं थपिए, ६३ हजार पुग्न तयार

काठमाडौँ। शिक्षक र विद्यालय कर्मचारीहरूको २७ औं दिनको आन्दोलनमा आज थप हजारौं शिक्षकहरू सहभागी भए। देशभरका विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा शिक्षक काठमाडौँ आएका छन्, जसले आन्दोलनलाई अझ बलियो बनाएको छ। शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै २७ दिनदेखि आन्दोलन जारी राखेका छन्।

हिजो प्रहरीले बल प्रयोग गर्दा ६२ जना शिक्षक घाइते भएका थिए, जसमा केही गम्भीर घाइते छन्। प्रहरीले पानीको फोहोरा र लाठी प्रहार गरेर शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमा अवरोध पुर्याएको थियो। नेपाल शिक्षक महासङ्घले यस दमनको विरोध गर्दै काठमाडौँमा रहेका शिक्षकहरूलाई तुरुन्त सडकमा आउन आह्वान गरेको थियो।

महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भने, ‘हामी थाक्दैनौं, गल्दैनौं। यदि शिक्षा ऐन जारी नभएसम्म आन्दोलन रोकिने छैन।’

अध्यक्ष शङ्कर अधिकारीले पनि प्रहरीको दमनपछि आन्दोलन थप सशक्त बनेको बताए र भने, ‘आजको आन्दोलन हिजोको तुलनामा दोब्बर ठूलो भएको छ।’ शिक्षकहरूको संघर्ष जारी रहने स्पष्ट पार्दै, महासङ्घले ६२ हजार शिक्षक घाइते हुन तयार रहेको चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस