२०८२ मङ्सिर २२ गते आइतवार | 2025 December 7th Sunday

तीनकुने प्रदर्शन : मुख्य कमान्डर दुर्गा प्रसाईंविरुद्ध ज्यान मार्ने उद्योगमा अनुसन्धान थालियो

काठमाडौं । काठमाडौं तीनकुनेमा चैत १५ गते भएको हिंसात्मक राजावादी प्रदर्शनका मुख्य कमान्डर दुर्गा प्रसाईंमाथि ज्यान मार्ने उद्योगको कसुरमा पनि अनुसन्धान सुरु भएको छ। प्रहरीका अनुसार, सुरक्षाकर्मीलाई गाडीले पेल्दै मार्ने प्रयास गरेको आरोपमा प्रहरीहरूले सामूहिक निवेदन दिएका हुन्।

सार्वजनिक भिडिओमा प्रसाईं आफैंले गाडी चलाउँदै प्रहरीलाई पेल्दै अगाडि बढेको देखिन्छ। त्यसक्रममा उनले अपशब्द बोलिरहेको पनि देखिन्छ। गृह मन्त्रालयले पनि प्रसाईंले ज्यान मार्ने नियतले गाडी कुदाएको पुष्टि गरिसकेको छ।

प्रसाईंमाथि हाल राजद्रोह, संगठित अपराध, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रव गरी चारवटा अभियोगमा अनुसन्धान भइरहेको छ।

तीनकुने प्रदर्शनमा हिंसा भड्किएपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको मृत्यु भएको थियो। पसल र घरमा आगजनी, सवारी साधन जलाउने कार्यसमेत भएका थिए।

प्रसाईं भारतको आसामबाट चैत २८ गते पक्राउ परेका थिए र चैत २९ मा काठमाडौं ल्याइएका थिए। उनी झापाको चन्द्रगढी हुँदै विमानबाट राजधानी ल्याइएका हुन्। हाल उनी काठमाडौं प्रहरी परिसरको हिरासतमा छन् र अदालतले उनलाई १२ दिन म्याद थप गरिसकेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस