२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

राप्रपाले निषेधित क्षेत्रमा गर्ने ७ वैशाखको प्रदर्शनबारे के भन्यो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वैशाख ७ गते पार्टीले निषेधित क्षेत्रमा गएर प्रदर्शन गर्ने बताएका छन्।

बिहीबार बसेको राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले पार्टीले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको जानकारी दिएका हुन्।

‘सरकारले नागरिक अधिकारलाई संकुचित बनाउँदै लगेको छ, त्यसको विरुद्ध हामी निषेधित क्षेत्रमै गएर प्रदर्शन गर्ने निर्णय गरेका छौं,’ उनले भने।

७ गतेको कार्यक्रम सभाभन्दा प्रदर्शनको रूपमा अगाडि बढाउने अध्यक्ष लिङ्देनले बताए। पार्टीको विशेष समितिको बैठक बसेर थप कार्यक्रमहरू सार्वजनिक गर्ने उनले जानकारी दिए।

राप्रपाले वैशाख २० गतेभित्र आफ्ना नेताहरू निःशर्त रिहा नगरे अन्दोलन चर्काउने चेतावनी दिएको छ। यस्तै ९ गते ७७ जिल्लामा विरोध सभा र धर्ना दिने तथा उपत्यकामा सबै वडा तहसम्म नेताहरू पुग्दै सङ्गठनलाई मजबुत बनाउने निर्णय गरेको बैठकपछि अध्यक्ष लिङ्देनले जानकारी दिए।

बैठकले पार्टीका नेताहरू रवीन्द्र मिश्र र धवलशमशेर राणालगायत रिहा गर्न माग गरेको छ। यस्तै आन्दोलनसँग सम्बन्धित कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष कमिटी बनाउने निर्णय समेत गरेको लिङ्देनले बताए।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस