२०८२ माघ २ गते बिहिवार | 2026 January 15th Thursday

जब शिवकोटी आफैले पालेको गाई बन्यो काल…

काठमाडौं । मोरङको रंगेली नगरपालिका–९ दोहमनामा आफ्नै घरमा पालेको गाईले हानेर एकजना वृद्धको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर सन्तोषकुमार खड्काका अनुसार गाईले हानेर ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको हो।

शिवकोटीलाई गोठमा काम गर्ने क्रममा गाईले हानेर बुधबार गम्भीर घाइते बनाएको थियो। टाउको, छाती लगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि राति ११ बजेतिर रंगेली अस्पताल लगियो।

रंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको इन्स्पेक्टर खड्काले बताए। नोबेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काएर लैजाँदै गर्दा बिहीबार शिवकोटीको बाटैमा मृत्यु भएको उनको भनाइ छ।

इन्स्पेक्टर खड्का नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस