२०८२ पुष २९ गते मङ्गलवार | 2026 January 13th Tuesday

मन्त्रिपरिषद् बैठकअघि शिक्षामन्त्री भट्टराईको राजीनामा किन?

काठमाडौं । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरूले राजधानीमा आन्दोलन थालेको २० औं दिनमा शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्।

राजीनामा आउनुको पछाडिको मुख्य कारण शिक्षक आन्दोलन र प्रधानमन्त्री केपी शर्मा ओलीसँगको मतभेद रहेको स्रोतले जनाएको छ। मन्त्री भट्टराईले सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा पत्र बुझाएकी हुन्, जबकि केहीबेरपछि मन्त्रिपरिषद् बैठक बस्दैछ।

शिक्षामन्त्री भट्टराई र प्रधानमन्त्री ओलीबीच विद्यालय शिक्षा विधेयकका विषयमा पटकपटक असहमति देखिँदै आएको थियो। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको लगानीलाई संरक्षण गर्ने अभिव्यक्ति दिएका थिए भने, भट्टराईले त्यसप्रति सार्वजनिक रुपमा असन्तुष्टि जनाएकी थिइन्।

पार्टी बैठकहरूमा समेत उनले प्रधानमन्त्रीको अभिव्यक्तिलाई संविधानको विपरित भन्दै आलोचना गरेकी थिइन्। संविधानले सबै नागरिकलाई निःशुल्क र अनिवार्य शिक्षा दिने व्यवस्था गरेको भन्दै उनले विद्यालय शिक्षा ऐन त्यसैअनुसार ल्याउन जोड दिँदै आएकी थिइन्।

शिक्षक महासंघसँग बारम्बार संवाद गरेर सहमति जुटाउने प्रयास गरे पनि निर्णायक नतीजा ननिस्किएपछि उनी दबाबमा थिइन्। मन्त्रिपरिषद्बाट निर्णयको अपेक्षा गरिँदै गर्दा राजीनामा आएको हो।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस