काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका नाति एवं पूर्वनवयुवराज हृदयेन्द्र शाह शनिबार साँझ नारायणहिटी दरबार पुगेका छन्। १५ जेठमा राजसंस्थाको समर्थनमा देशभर प्रदर्शनको तयारी भइरहेका बेला हृदयेन्द्रको यो उपस्थितिले विशेष अर्थ बोकेको विश्लेषण हुन थालेको छ।
पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, पूर्वअधिराजकुमारी प्रेरणा र हृदयेन्द्रले नारायणहिटी दरबार परिसरमा रहेको चतुर्व्यूह नारायणधाम मन्दिरमा पूजाआजा गरेका हुन्। उक्त मन्दिर पूर्वराजपरिवारको नियमित दर्शन स्थल मानिन्छ।
अमेरिकाको बोस्टनमा अध्ययनरत हृदयेन्द्र केही दिनअघि मात्र नेपाल फर्किएका हुन्। नेपाल फर्किएलगत्तै हृदयेन्द्र शनिबार आफ्नो हजुरबुवा पूर्वराजा शाहसँगै नारायणहिटी पुगेका हुन्। त्यही क्रममा उनले बडामहारानी रत्न राज्यलक्ष्मी शाहलाई भेट्ने इच्छा व्यक्त गरेपछि पूर्वराजा उनलाई लिएर नारायणहिटी परिसरस्थित महेन्द्र मञ्जिल पुगेका थिए।
पूर्वराजा सपरिवार बिहानैदेखि नारायणहिटी राजदरबार संग्रहालयभित्रको चतुर्व्यूह नारायणधाम मन्दिरमा दर्शन गर्न पुगेका थिए। दर्शनपश्चात् उनीहरू महेन्द्र मञ्जिल पुगेको राप्रपाका नेता ऋषिराज देवकोटाले जानकारी दिए।
यस्तो समयमा पूर्वराजपरिवार विशेषगरी हृदयेन्द्रको नारायणहिटी प्रवेशलाई कतिपयले प्रतीकात्मक रूपमा लिएका छन्। १५ जेठमा राप्रपा लगायतका समूहले देशभर कार्यक्रम घोषणा गरिसकेका छन्। यिनै कार्यक्रमको पूर्वसन्ध्यामा दरबारभित्र पूर्वनवयुवराजको चुपचाप उपस्थितिले राजसंस्था समर्थकहरूलाई मनोवैज्ञानिक रूपमा सशक्त बनाउने देखिन्छ।

