काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमति भएमा हृदयेन्द्र शाहलाई राजा बनाउन सकिने बताएका छन्।
१५ जेठका लागि तय गरिएको आन्दोलनबारे मंगलबार सञ्चार सम्पादकहरूसँगको छलफलमा थापाले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सहमति हुन्छ भने हृदयेन्द्र शाहलाई राजा बनाऔं, उहाँ अहिले २०/२१ वर्षका हुनुहुन्छ,’ थापाले भने। वृद्ध राजा चाहिने हो भने ज्ञानेन्द्र शाह पनि तयार हुनुपर्ने उनको भनाइ छ।
थापाले दलहरू राजावादी विचारलाई संकटमा पार्ने षड्यन्त्रमा लागेको आरोप लगाए।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले सरकारको रवैयाले १५ जेठको कार्यक्रम पनि १५ चैतजस्तै बन्ने डर रहेको बताएका छन्। उनले आन्दोलन अहिंसात्मक हुने स्पष्ट पार्दै प्रधानमन्त्री ओलीको १५ जेठमा काठमाडौं एमालेको नियन्त्रणमा हुनुपर्ने अभिव्यक्तिप्रति आपत्ति जनाए।
‘प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तिजनक छ, त्यसैले पत्रकारहरू साक्षी बसिदिनुस् भनेर गुहार माग्न आएका हौं,’ सुवेदीले भने।

