२५ जेठ, काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एक दिवसीय शृङखलामा नेपाल आज ९आइतबार० घरेलु टोली स्कटल्याण्डसँग भिड्दै छ । खेल डुन्डेको फोर्थहिल मैदानमा दिउँसो पौने ४ बजे शुरु हुनेछ। लिग–२ को आफ्नो चौथो चरणको श्रृङखलामा नेपालले शुरुवाती दुई खेल जित्दै तालिकामा चार अंक थपेको छ ।
नेपालले गएको सोमबार भएको आफ्नो पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई एक विकेट र बुधबारको दोश्रो खेलमा नेदरल्याण्डसलाई पाँच विकेटले हराएको थियो । नेपाली टोलीले स्कटल्याण्ड भ्रमण अन्तर्गतको श्रृङखलामा आज तेस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा बलियो मानिएको घरेलु टोलीमाथि एक विकेटको रोमाञ्चक जीत निकालेको नेपाल आज पनि जीतलाई निरन्तरता दिन चाहन्छ। नेपाल र स्कटल्याण्डबीच अहिलेसम्म नौ वटा एक दिवसीय खेल भएको छ। जसमा नेपालले पाँच र स्कटल्याण्डले तीन खेल जितेको छ। एउटा खेल नतिजाविहीन भएको थियो ।
नेपालले पर्सी नेदरल्याण्ड्ससँग खेल्नेछ। नेपालसहित अमेरिका, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, क्यानडा, नामिविया र यूएई गरी आठ टोली सहभागी लिग–२ एक दिवसीय विश्वकप सन् २०२७ को छनोट प्रतियोगिता समेत हो । सन् २०२७ सम्म चल्ने लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ। पुछारमा रहने चार टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।
नेपाल १४ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। स्कटल्याण्ड १८ खेलमा २२ अंकका साथ चौथो स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकका साथ दोस्रो स्थानमा र अमेरिका २० खेलमा २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ । नेपालले मंगलबार नेदरल्याण्ड्सविरुद्ध खेलेर यस लिग २ को यात्रा टुंग्याउने छ ।

