२०८३ साउन २ गते शनिवार | 2026 July 18th Saturday

पूर्वमन्त्री भगबती चौधरीलाई ‘आइकोनिक वुमन अवार्ड’

अन्तर्राष्ट्रिय महिला संसदको विशेष सम्मान कार्यक्रममा युएईमा सम्मान

काठमाडौं, असार १७ – नेपाली महिला नेतृत्व र सशक्तिकरणको क्षेत्रमा दीर्घकालीन योगदान पु-याउँदै आउनु भएकी पूर्वमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा प्रतिनिधिसभा सदस्य भगबती चौधरी ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मानित हुनु भएकोछ।

यो सम्मान अन्तर्राष्ट्रिय महिला संसद (International Women’s Parliament) ले संयुक्त अरब इमिरेट्स (UAE) मा आयोजना गरेको विशेष समारोहमार्फत प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च मूल्याङ्कन गर्दै महिला अधिकार, समाजसेवा, उद्यमशिलता र नेतृत्व विकासमा उनले देखाएको सक्रियतालाई उल्लेख गरिएको थियो।अवार्ड प्रदान समारोहमा प्रोजेक्ट १०० की अध्यक्ष म्कोनडिवा र अन्तर्राष्ट्रिय महिला संसदकी अध्यक्ष मनिता घिमिरेले संयुक्त रूपमा चौधरीलाई सम्मान प्रदान गरेका थिए।

कार्यक्रममा चौधरीले यो सम्मान सम्पूर्ण नेपाली महिलाहरूको नाममा स्वीकार गर्ने बताउँदै भनिन्, “म यो सम्मानलाई मेरो व्यक्तिगत उपलब्धिभन्दा पनि नेपाली महिलाको सामूहिक यात्रा र उनीहरूको संघर्षको प्रतीकको रूपमा लिन्छु। महिलाको आवाज र पहिचान अझ सशक्त रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न म निरन्तर क्रियाशील रहँदै आइरहेकी छु र यसले झनै ऊर्जा दिएको छ।”

महिला सशक्तिकरणमा चौधरीको भूमिका
सांसद चौधरीले संसदभित्र र बाहिर दुवै स्थानमा महिला अधिकार, लैङ्गिक समानता, शिक्षा, स्वास्थ्य, उद्यमशिलता र स्थानीय विकासजस्ता विषयहरूमा निरन्तर पैरवी गर्दै आउनु भएको छ। उँहाले नेतृत्व गरेको विभिन्न पहलहरूले ग्रामीण भेगका महिलाहरूलाई स्वरोजगार, वित्तीय साक्षरता, तथा सामाजिक जागरणतर्फ उन्मुख गराएको छ। उँहाको नेतृत्वमा संचालनमा आएका महिला उद्यमशीलता कार्यक्रम, कानुनी सचेतना अभियान तथा बालिका शिक्षा प्रवर्द्धन कार्यक्रमले राष्ट्रिय स्तरमै उदाहरणीय प्रभाव पारेका छन्।

अन्तर्राष्ट्रिय महिला संसद एक प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्च हो, जसले ५० भन्दा बढी देशका नेतृहरू, नीति निर्माता, उद्यमी तथा सामाजिक परिवर्तनकर्मीहरूलाई एकै ठाउँमा ल्याएर, महिला सशक्तिकरण र समावेशी विकासमा छलफल, सहकार्य र नीति निर्माणको अवसर प्रदान गर्दै आएको छ।संगठनले हरेक वर्ष विभिन्न क्षेत्रका उत्कृष्ट महिला नेतृत्वकर्तालाई सम्मान गर्दै उनीहरूको योगदानलाई विश्वमाझ उजागर गर्ने गर्छ।

पूर्वमन्त्री चौधरीलाई प्राप्त ‘आइकोनिक वुमन अवार्ड’ नेपाली महिलाको सामाजिक, राजनीतिक र आर्थिक सशक्तिकरणको क्षेत्रमा ऐतिहासिक उपलब्धि मानिएको छ। यसले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचानलाई अझ सुदृढ बनाएको छ भने, भावी पुस्तालाई नेतृत्वमा अघि बढ्न प्रेरणा पनि दिएको छ।

प्रकाशित मिति : २०८२ असार १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस